धरान । देशकै प्रतिष्ठित स्वास्थ केन्द्रमा गनिने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समय पार्टी, नेता र मन्त्रीका आफन्त र कार्यकर्ता भर्ति गर्ने केन्द्र बनेको छ ।
प्रतिष्ठानमा नेकपाका नेता र स्वास्थ्यमन्त्रीले मनखुसी कार्यकर्ता र नातागोता भर्ती गरेर मासिक एक करोड भन्दा बढी खर्च बढाएका छन् ।
पछिल्लो समय प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले स्वास्थ्य मन्त्री भानुभक्त ढकालका ज्वाइँ र भतिजालाई सल्लाहकारका रुपमा नियुक्त गरेका छन् ।
स्वास्थ्य मन्त्री ढकालका बहिनी–ज्वाइँ विराटनगरका सुमन पन्तलाई कानुनी सल्लाहकार र मन्त्री ढकालका भतिजा अमृत ढकाल जनसम्पर्क अधिकृतमा नियुक्त भएका छन्। त्यसअघि उपकुलपतिका आफन्त गणेश गिरीलाई स्वकीय सचिवका रुपमा नियुक्त गरिएको थियो । प्रतिष्ठानमा कानुनी सल्लाहकार मात्र तीन जना भएका छन् ।
यसअघि उपकुलपति गिरीले गत चैतमा स्वास्थ्यमन्त्री ढकालका स्वाकीय सचिव भुवन खतिवडाका दाजु चिरञ्जीवी खतिवडालाई कानुनी सल्लाहकार नियुक्ति गरेका थिए। त्यसपछि विराटनगरका अर्का कानुन व्यवसायी शान्तिराम भण्डारीलाई कानुनी सल्लाहकार नियुक्ति गरेका थिए।
उपकुलपति गिरीका यसअघिका स्वकीय सचिव दिलीप भट्टराई भने विवादमा परेपछि हटाइएका छन् ।
प्रतिष्ठानका हालै नियुक्त सहप्रवक्ता चूडामणि पोखरेल भने नयाँ नियुक्तिबारे आफूलाई औपचारिक जानकारी भएको बताउँछन् ।
उपकुलपति गिरीले सल्लाहकारमा गोविन्द श्रेष्ठलाई पनि नियुक्त गरेका छन् । त्यसैगरी प्रतिष्ठानको ऐनमै व्यवस्था नभएको प्रेस संयोजक पदमा नेकपा निकटका रेडियोकर्मी शिशिर राईलाई नियुक्ति गरिएको छ। भने आर्थिक सल्लाहकारमा अमित कडरिया र स्वकीय सचिवका रूपमा मनोज घिमिरे पनि छन्। उपकुलपति गिरीले व्यक्तिगत रूपमा चालक पनि आफ्नै नियुक्ति गरेका छन्।
हालका स्वास्थ्य मन्त्री ढकाल मोरङ क्षेत्र नं. ३ बाट चुनावमा उठेका थिए । विराट मेडिकल कलेजमा रहेका डा.गिरीले उनलाई सहयोग गरेका थिए । त्यसैको गुन तिर्न आफु स्वास्थ्यमन्त्री बनेपछि ढकालले गिरीलाई प्रतिष्ठानको उपकुलपति नियुक्त गरे । तर व्यक्तिगत स्वार्थमा मन्त्री र उपकुलपति मिलेर प्रतिष्ठानलाई भर्ती केन्द्र बनाएका छन् ।