ब्लाष्टखबर । पटक–पटक भएकाे ओली तथा प्रचण्ड–नेपाल दुबै पक्षकाे छुट्टा–छुटै बैठकमा सहभागी नभएका नेकपा स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले आफ्नो पार्टी (नेकपा) फुटेकाे बताएका छन् ।
आज बसेकाे प्रचण्ड–नेपाल पक्षकाे केन्द्रीय कमिटि बैठकमा सहभागी भएका उनले नेकपा फुटेपछि आफू प्रचण्ड-नेपाल समूहको बैठकमा सहभागी भएको बताएका छन्।
यसअघि उनी दुवै समूहले सोमवार आयोजना गरेको बैठकमा गएका थिएनन्।
उनले भने, “एकताको यत्रो प्रयास गरियो, प्रयास सफल हुन सकेन, हामी चिन्तित छौँ,साङ्केतिक रूपमा नगएको हो, त्यो भनेको पार्टी फुटको विरोध गरेको हो।”
तर दुवै पक्षले केन्द्रीय कमिटीको बैठक अलग-अलग आयोजना गरेपछि पार्टी औपचारिक रूपमा फुटेको उनको भनाइ छ।
गजुरेल भन्छन्, “दुईवटा बैठक आयोजना गरिएपछि त पार्टी फुट्यो, फुटिसकेपछि के गर्ने?”
यसअघि उनी केपी शर्मा ओलीतर्फ लागेको भन्ने समाचारहरू आएका थिए।
दुवैतर्फबाट त्यस्तो प्रचारबाजी भएको र त्यसैकारण जनतामा भ्रम पैदा भएको उनको भनाइ छ।
गजुरेलले भने, “खुमलटारकाले हरिबोल मन्त्रीका लागि ओलीतिर गयो भनेर प्रचार गरे,बालुवाटारकाले हरिबोलजी आउनु भयो भनेर प्रचार गरे,म कतै गएको पनि थिइनँ,आएको पनि थिइनँ। म त एकताको प्रयासमा थिएँ।”
बिबिसी नेपाली सेवा