धरान । नेपालमै धेरै धावकधाविका सहभागी हुने ‘धरान १० के रन, नेवा च्यारिटी’ को नवौं संस्करणमा सीमित धावकधाविका सहभागी गराएर प्रतियोगिता गरिने भएको छ ।
यसपटक प्रतियोगितामा भिड्नका लागि धावकले ४० मिनेट र धाविकाले ५० मिनेटभन्दा कम समयमा १० के रन पूरा गरेकाले मात्रै पाउनेछन् । आयोजक धरान रन समूहका अनुसार एक सयको हाराहारीमा मात्रै धावकधाविका सामेल गराएर प्रतियोगिता गरिन लागिएको हो । कोभिड १९ को महामारीलाई लक्षित गर्दै यसपटक थोरै सङ्ख्यामा धावकधाविका सामेल गराउन लागेको अध्यक्ष रमु राईले शनिबारको पत्रकार सम्मेलनमा बताए ।
सधैवर्षझै फागुन ८ गते प्रतियोगिता हुनेछ । आयोजकले ‘एलिट रनर्स’ (उत्कृष्ट धावकधाविका) लाई मात्रै सहभागी गराउन लागिएको हो । त्यसका लागि आयोजकले निश्चित मापदण्ड राखेको छ । अध्यक्ष राईले भने, ‘सहभागी धावको हकमा १० किलोमिटर दूरी ४० मिनेटमा पूरा गरेको हुनुपर्छ त्यो पूरा गरेको प्रमाणित खुल्ने कागजात ल्याउनुपर्छ ।’ त्यस्तै महिलाको हकमा पनि त्यस्तै मापदण्ड राखिएको छ ।
रन समूहले ‘शिक्षाको निम्ति च्यारेटी दौड’ गराउँदै आएको छ । जसबाट सामुदायिक स्कुलमा अध्ययरत जेहेन्दार तथा मेहनती २४ विद्यार्थीलाई छात्रवृत्ति दिँदै आएको छ । नेवा एजुकेसन फण्ड नाम दिइएको च्यारिटीमा आठौं संस्करणसम्म आइपुग्दा ११ लाख ८२ हजार रुपैयाँ अक्षयकोष जम्मा गर्न सफल भएको अध्यक्ष राईले बताए ।
दौडका विजेता धावकधाविकाले नै जनही ५० हजार, ३० हजार र २० हजार रुपैयाँ पाउनेछन् । त्यस्तै चौथो र पाँचौंलाई पनि सान्तवना पुरस्कार, मेडल र प्रमाण पत्र प्रदान गरिने भएको छ । यसपटक १२, १४, १६ वर्ष मुनी साथै भेट्रानहरूका लागि छुट्टै व्यवस्था नभएको रन समूहले जनाएको छ ।