धरान । इटहरीका घाइते बास्केटबल खेलाडी प्रदीप गुरुङलाई बास्केटबल संघले थप सहयोग रकम प्रदान गरेको छ ।


उनी धरानस्थित बीपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान पुस १५ गते भर्ना भएका छन् । प्रशिक्षणको क्रममा घाइते बनेका गुरुङको एसिएल लिगामेन्ट पूर्णरूपमा च्यातिएको छ भने मेडियल मिनिस्कस र ल्याटिरियल मिनिस्कसको केही भाग च्यातिएको छ । जसका कारण उनी गम्भीर घाइते बनेको प्रदेश १ का प्रशिक्षक विकास चाम्लिङले जानकारी दिए ।


उनका अनुसार शनिबार संघका पदाधिकारीहरू प्रतिष्ठानमै पुगेर गुरुङलाई ३५ हजार ९१० रुपैयाँ सहयोग प्रदान गरिएको हो । बास्केटबल संघका केन्द्रीय उपाध्यक्ष सुरजकुमार लामा र सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीलगायत टोलीले रकम प्रदान गरे । यसअघि संघले च्यारिटेबल मैत्रीपूर्ण बास्केटबल खेलाउँदै नगद २ लाख रुपैयाँ सहयोग गरेको थियो ।


उनको उपचारमा करिब २ लाख ५० हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ । उनको भोलि अर्थात् आइतबार शल्यक्रिया गरिने तयारी गरिएको छ । उनी कात्तिक १९ गते घरमै प्रशिक्षण गर्ने क्रममा घाइते बनेका थिए । सामान्य आर्थिक अवस्था भएका खेलाडी गुरुङ सातौं र आठौं राष्ट्रिय खेलकुदमा सहभागी बनेका थिए ।