विराटनगर/ २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका बेलबारी नगरपालिका–८ रैझारटोलका ३२ वर्षीय सुरेशकुमार खवास पुर्पक्षको लागि थुनामा गएका छन् ।
बलात्कारजस्तो घटनालाई मिलापत्र गराउन संलग्न भएको आरोपमा पक्राउ परेका ६ जना धरौटीमा रिहा भएका छन् । मोरङ अदालतका न्यायाधीश मनोज केसीको इजलासले बलात्कारको घटना मिलापत्र गराउने ६ जनालाई धरौटीमा छाड्न शुक्रबार आदेश दिएको हो ।
मिलापत्र गराउने धनपालथान–५ का ६५ वर्षीय धनेशु खवास, ५३ वर्षीय सुधारसिंह खवास, ६२ वर्षीय मागन खवास, ६९ वर्षीय कलकनु खवास र बेलबारी–८ का ५३ वर्षीय मथालु खवासलाई मोरङ अदालतले जनही ५०–५० हजार र घटना मिलापत्र गराउन लेखनदासको भूमिका निभाउने रङ्गेली–१ का ६७ वर्षीय जगतनारायण खवासलाई ७५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको मोरङ अदालतले जानकारी दिएको छ ।
गत भदौ २४ गते साँझ धनपालथान गाउँपालिकाकी एक किशोरीलाई सुरेशकुमार खवासले धानखेतमा लगेर जबरजस्ती करणी गरेको आरोप छ । करणी भएको एक महिनापछि २५ असोजमा पीडित किशोरीले इप्रका रङ्गेलीमा जाहेरी दिएकी थिइन् । जाहेरीको आधारमा प्रहरीले खवासलाई मङ्सिर १९ गते रङ्गेली–७ बाट पक्राउ गरेको थियो । प्रहरीले उनीविरुद्ध जबर्जस्ती करणी मुद्दा म्यादमा थप गरी अनुसन्धान गर्दै आएको थियो ।

प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएपछि गत बुधबार मोरङ अदालतमा मुद्दा दर्ता भएको थियो । पक्राउ परेका ७ जना र ४ जनालाई फरार प्रतिवादी बनाएर जबरजस्ती करणी मुद्दा दर्ता भएको थियो । बलात्कार घटना मिलापत्र गराउने अन्य दुईजना जनप्रतिनिधिसहित चार जना फरार छन् । मिलापत्र गराउन भूमिका निभाएका धनपालथान–५ की वडासदस्य ५५ वर्षीया नेपालदेवी खवास र बेलबारी–८ का वडासदस्य ५५ वर्षीय प्रवीणकुमार खवास फरार छन् ।
यस्तै मिलापत्र गराउन भूमिका खेल्ने बेलबारी–८ का ५७ वर्षीय आशाराम खवास र सोही ठाउँकी २८ वर्षीया मन्दिरा खवास पनि फरार छिन् । दुईजना जनप्रतिनिधिसहित चार जना पक्राउ परेका छैनन् । उनीहरूको पनि खोजी कार्य भइरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।
यसरी भएको थियो मिलापत्र
खेतमा मल हाल्न साथी भन्दै बेलबारी–८ का सुरेशकुमारले ती युवतीलाई लिएर गए । खेतमा पु¥याएपछि गत २४ भदौमा बलात्कार गरेको स्थानीयले देखे । घटनापछि पीडित युवतीको परिवारले प्रहरीमा जाने तयारी ग¥यो ।
तर, भोलिपल्ट बिहान जनप्रतिनिधिसहित बसेको पञ्चायतीले युवतीलाई कानूनी उपचार खोज्नबाट रोक्यो । ५ लाख रुपैयाँ दिने सर्त राखेर मिलापत्र गरायो । आर्थिक अवस्था कमजोर भएका कारण र सबैबाट दबाव परेपछि पीडित परिवारले तत्काल न्यायका लागि जान नपाएको स्थानीयको भनाइ छ । तर, पीडक भनिएको पक्ष सर्तअनुसार पैसा दिन तयार भएन । विवाद बढ्दै गएपछि उक्त घटनाबारे असोज २५ गते प्रहरीले थाहा पायो । बलात्कार भएको खुलेपछि प्रहरीले पीडित युवतीलाई जाहेरी दिन लगाएर घटनाको अनुसन्धान थाल्यो ।
पीडितका मामाले समाज (पञ्चायती) ले निर्णय गरेर जान नदिएका कारण समयमै प्रहरी कार्यालय पुग्न नपाएको बताए । पञ्चायतीमा बसेका सबैजना पैसा दिएर घटना मिलाउने पक्षमा देखिएपछि त्यतिबेला आफ्नो पक्षमा बोलिदिने कोही नभएको उनको भनाइ छ । उनका अनुसार छलफलका क्रममा दुईजनाको बिहे गराउने कुरा पनि चल्यो । तर, सुरेशकुमारले बिहे गरिसकेका कारण परिवारले नमान्दा त्यो सम्भव भएन । अन्ततः युवतीलाई क्षतिपूर्ति र बिहे खर्चबापत ५ लाख रुपैयाँ दिने कागज बनाएर घटनालाई मिलापत्रमा टुङ्ग्याइएको थियो ।