धरान/भारतबाट भित्र्याइँदै गरेको अवस्थामा २ लाख २५ हजार रुपैयाँ बराबरको बोइलर कुखुरा प्रहरीले बरामद गरेको छ ।
प्रहरीले मोरङको विराटनगर महानगरपालिका–१२ रोडशेषबाट प्रदेश १–०४००१ च् ००४६ नम्बरको पिकअप भ्यानसहित ७५० केजी कुखुरा बरामद गरेको हो । मोरङ कटहरी गाउँपालिका–५ का २८ वर्षीय किरनकुमार सारडालाई नियन्त्रणमा लिएको छ । भारतमा विभिन्न राज्यमा यतिखेर पशुपंक्षीमा वर्डफ्लू तीव्र रूपमा फैलिएको छ । यही बेला नेपालका सीमा क्षेत्रबाट भारतबाट चोरीपैठारी गरी पशुपंक्षी ल्याउने क्रम जारी छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईका अनुसार बरामद गरिएको कुखुरा पशुक्वारेन्टाइन मोरङका प्रतिनिधि, स्थानीय, र प्रहरीको रहोबरमा नष्ट गरिएको छ । कुखुरा ल्याउन प्रयोग गरिएको सवारी साधन र सरदारलाई आवश्यक कारबाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाइएको डिएसपी राईले जानकारी दिए ।