विराटनगर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले प्रतिगमनकाविरूद्ध आन्दोलनमा रहेकाहरूसँगको सहकार्यमा नयाँ सरकार गठन हुने बताएका छन् । प्रेस सेन्टर नेपाल मोरङले मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलन उनले यस्तो बताएका हुन् ।

उनले प्रतिगनमका विपक्षमा रहेका शक्तिहरुसँगको सहकार्यमा नयाँ सरकार बनाउने बताए । उनले नेपाली काँग्रेस, जनता समाजवादी पार्टीलगायतका दलहरुसँग सहकाय गर्ने बताए । ‘प्रतिगमनकाविरुद्ध आन्दोलनमा रहेकाहरुको सहकार्य हुनेछ’, उनले भने, ‘प्रतिगमनका मतियारहरु पनि सच्चिएर आउँछन् भने पश्चाताप गर्छन् भने पार्टीका साथीहरुलाई स्वागत गरिनेछ ।’

प्रधानमन्त्री केपी शर्मा ओली त्रस्त रहेको बताउँदै उनले प्रधानमन्त्रीले सुरक्षा चुनौती ब्यहोरेको हो भने आफ्नो दलले सुरक्षा दिने भन्दै व्यंग्य पनि गरे । ‘देशको प्रधानमन्त्री असुरक्षामा परेको हो भने हामी सुरक्षा दिन तयार छौं’, उनले भने ।

प्रधानमन्त्रीले नैतिकता प्रदर्शन गरेर राजीनामा दिनुपर्ने अडान दोहोर्याउँदै उनले ओलीले संसद्मा, दलमा सबैतिर बहुमत गुमाएको र पार्टीले निष्कासन नै गरिसकेका कारण अब उनको नेतृत्वको कुनै सम्भावना नरहेको बताए ।