बिर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको अधिवेसन नजिकिंदै गर्दा आफु तनावमा नरहेको बताएका छन् । झापाको बिर्तामोडमा मंगलबार आयोजित एक समारोहमा प्रधानमन्त्री ओलीले फागुन २३ गतेको संसद अधिवेसन सहजताकासाथ सामना गर्ने योजना रहेको बताए । 

अदालतले फागु्न १० गते प्रतिनिधिसभा भङग गर्ने सरकारको पुष ५ गतेको निर्णय उल्टाउँदै फैसलाको १३ दिनभित्रमा संसद बैठक बोलाउन सरकारलाई आदेश दिएको थियो । सोही आदेश बमोजिम राष्ट्रपति बिद्यादेवी भण्डारीले २३ गते संसद अधिवेसन बोलाएकी छन् । 

प्रधानमन्त्री ओलीले संसद अधिवेसन सहज हुने दावी गरे । ‘कसैले हटाउन सक्छ भने मलाई सरकारबाट हटाओस, डेढ बर्षपछि त चुनाव हुन्छ नि, दुई तिहाई मत लिएर फेरी सरकार बनाउँछु ।’ ओलीले नेपालका भूगोल, सम्प्रभुता, राष्ट्रिय एकता तथा जनताको हितलाई कम्फर्टेबल हुने खालको काम आफुले गर्दै आएको दाबी गरे । ‘छिमेकीसँग मैत्रीपुर्ण सम्बन्ध राखिन्छ, ओलीले भने–‘उनीहरुलाई कम्फर्टेबल हुने काम यो सरकारले गर्दैन, यो सरकार नेपाली जनतालाई कम्फर्टेबल हुने काम गर्छ ।’

प्रधानमन्त्री ओलीले देश बनाउने मात्र आफ्नो सपना भएको दावी गरे । उनले आफु सरकारमा आउनुभन्दा अघि मुस्किलले बर्षमा १०–१२ किलोमिटर सडक कालोपत्रे हुनेगरेकोमा अहिले दिनको ५ दशमलब ७ किलोमिटर हुन थालेको दाबी गरे । ओलीले आफुले सरकारको नेतृत्व गरेपछि ९ सयवटा पुल निर्माण गरेको बताए ।

‘मैले देश बनाउँछु भन्दा मेरो सबैभन्दा बढी आलोचना भयो, प्रधानमन्त्री ओलीले भने–‘कुन्ती मोक्तानको गितमा भनेजस्तो काम गर्न खोज्दा खुट्टा तान्नेहरुको संख्या यो देशमा धेरै छ ।’ तर, खुट्टा तान्नेको प्रयासलाई सम्मान गर्दै ‘देश बनाउन’ बाट नरोकिने ओलीले बताए । 

‘समेद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षाबाट आफु कतिपनि बिचलित नहुने ओलीले बताए । उनले समग्र नेपालीको आकांक्षा पुरा गर्न सम्पुर्ण क्षेत्रले पहल कदमी लिनुपर्ने धारणा राखे । ओलीले नेपालमा बिभिन्न समयमा बन्द भएका उद्योगधन्दा कलकारखाना सञ्चालन गर्न सरकारले प्राथमिकता दिएको बताए । 

मञ्चमै बसेका उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष चण्डिराज ढकाललाई डेढ दशकदेखि बन्द रहेको गार्मेन्ट उद्योग सञ्चालन गर्न सुझाव दिए । ‘चण्डीजी उद्योग चलाउनुस सरकारले सहयोग गर्छ, ओलीले भने–‘बन्द रहेका उद्योग सञ्चालनका लागि ऐन बाधक बन्छ भने सरकारले त्यो ऐन संसोधन गरेर भएपनि सहयोग गर्न तयार छ ।’ समिति मातहत सञ्चालन हुँदै गरेका यातायात ब्यवसायीलाई कम्पनिमा लगेर जनतालाई कम्फर्टेबल बनाउन लागिएको ओलीले बताए । 

सरकारले तीनबर्षको अवधिमा गरेका कामको फेहरिस्त प्रधानमन्त्री ओलीले कार्यक्रममा प्रस्तुत गरे । उनले डिजिटल नेपाल बनाउनेदेखि घर बिहिन २ लाख परिवारलाई नयाँ घर बनाएर हस्तान्तरण गरेको बताए । नेपालको इतिहासमा एकैपटक ३ सय ९ वटा अस्पताल शिलान्यास गरेर रेकर्ड राख्न सरकार सफल भएको उनको भनाई थियो ।  

प्रधानमन्त्री ओलीले काठमाण्डौ युनिभर्सिटीबाट झापाको वीएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिने प्रक्रिया अघि बढिसकेको बताएका थिए । २०७४ मंसीर २ गते दुई महिनाभित्रमा सम्बन्धन दिलाउने प्रतिबद्धता जनाएका ओलीले त्यसमा ढिलो भएको भन्दै नेपालमा काम गर्ने उद्यमीलाई हौसला प्रदान गर्न सरकार तयार रहेको बताएका थिए । 

वीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईँले बदनामीलाई नै ब्राण्ड बनाएको भन्दै ओलीले उनको उ्रच्च तारिफ गरेका थिए । प्रसाईँले मार्सी बियर, माफिया विस्की र डन इनर्जी ड्रिङक बजारमा ल्याउने तयारी गर्दै छन् । तारे होटल स्थापनाको क्षेत्रमा हात हालेका प्रसाईँले ‘हरेक शहर एउटा होटल’ अभियान शुरु गर्न लागेको बताएका छन् । 

प्रसाईँले बर्षमा एक दुई झोला सिटामोल वितरण गर्दै माइतिघर मण्डलामा कागजको टोपी लगाएर सत्याग्रह गर्ने गोविन्द केसीले उनको अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिनबाट अवरोध गरेको आरोप लगाएका थिए । सरकार केसीको जवरजस्तीमा बन्धक बन्न नहुने प्रसाईँको जिकिर थियो । 

लगभग १ दर्जन मन्त्री सहित कार्यक्रममा उपस्थित प्रम ओलीले बिर्तामोडमा बिपन्न समुदायका लागि निर्माण भएको ३७ वटा घर हस्तान्तरण गरेका थिए । गरामनीमा निर्माण भएको घर हस्तान्तरणपछि ओलीले मोरङको उर्लावारीमा निर्माण हुुन लागेको एकिकृत सन्थाल बस्ती निर्माणका लागि शिलान्यास समारोहमा सहभागि भएका थिए ।