धरान । कोरोना महामारीका कारण स्थगित भएको प्रदेश १ स्तरीय वराह ग्रुप महिला तथा पुरुष बास्केटबल प्रतियोगिता चैत २ गतेदेखि हुने तय भएको छ ।


पुरुषतर्फ १३ टिमले प्रतिस्पर्धा गर्दै छन् भने महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगितामा सहभागी हुन पुरुषतर्फ २३ वर्ष मुनीको उमेरलाई मात्रै स्वीकृति दिइएको छ भने महिलामा उमेर खुल्ला गरिएको छ । प्रतियोगितामा धरान, इटहरी, विराटनगर र बिर्तामोडको विद्यालयको टिम सहभागी बन्ने कार्यक्रम संयोजक विकास चाम्लिङ राईले जानकारी दिए । 


धरान १२ हिमालयन मेघा कलेजको बास्केटबल कोर्टमा हुन लागेको प्रतियोगितामा गायक तथा पूर्व बास्केटबल खेलाडी प्रकाश पौडेल थ्री पोइन्ट प्रतिस्पर्धा हुन लागेको छ । बास्केटबल कोर्टमा थ्री पोइन्ट क्षेत्र भन्ने हुन्छ । उक्त क्षेत्रबाट प्रतिस्पर्धामा सहभागी भएका महिला तथा पुरुष खेलाडीले व्यक्तिगत रूपमा एकमिनेटमा जसले धेरै बास्केटमा बल छिराउन सक्छ उही नै विजेता घोषित हुन्छ । त्यसभन्दा कम हुने खेलाडी दोस्रो, तेस्रो हुँदै जाने नियम हुने आयोजक धरान बास्केटबल संघका अध्यक्ष तथा नेपाल बास्केटबल संघका उपाध्यक्ष सुरजकुमार लामाले जानकारी दिए । 


वराह फेमिली किचनमा शनिबार पत्रकार सम्मेलन गर्दै संघले धरानमा बास्केटबललाई व्यवसायिक बनाउन योगदान दिएका धरान १७ रत्नचोकवासी पूर्व ब्रिटिस सेना स्वर्गीय कुलबहादुर सेनिहाङ ‘जुङे मामा’ लाई मरणोपरान्त सम्मानले सम्मानित गरिन लागिएको कार्यक्रम संयोजक राईले जानकारी दिए । धरानमा बास्केटबल खेललाई प्रतियोगितात्मक गर्नमा कुलबहादुरको अहम् भूमिका रहेको बताइन्छ । 


प्रतियोगितामा पुरुषतर्फको विजेताले १५ हजार रुपैयाँ र उपविजेताले नगद ७ हजार ५ सय रुपैयाँसहित ट्रफी र मेडल प्रदान गरिँदै छ । यता महिलातर्फको विजेताले नगद १० हजार र उपविजेताले नगद ५ हजार रुपैयाँसहित ट्रफी र मेडल पाउनेछन् । त्यस्तै पुरुषतर्फको उत्कृष्ट खेलाडीले नगद २ हजार र महिलातर्फको खेलाडीले १ हजार रुपैयाँ प्रदान गरिने भएको छ । महिला र पुरुषतर्फकै उदयिमान खेलाडीले नगद १ हजार रुपैयाँ पाउने छ ।


यता प्रकाश पौडेलले प्रायोजन गरेको थ्री पोइन्ट कम्पिटिसनका विजेताले जनही नगद ३ हजार रुपैयाँ, ट्रफी र मेडल प्रदान गरिने भएको छ ।