फुटबलर अनन्त तामाङ र उसु खेलाडी जुनी राई शुक्रबार बिर्तामोडमा सम्पन्न ‘चौथो झापा स्पोर्टस् अवार्ड २०७६’ मा ‘वर्ष उत्कृष्ट खेलाडी’ बाट पुरस्कृत भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले आयोजना गरेको चौथो झापा स्पोर्टस् अवार्डमा अनन्त र जुनी वर्ष उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

उनीहरुलाई २०७६ सालमा प्राप्त गरेको उपलब्धिका आधारमा वर्ष उत्कृष्ट खेलाडीका रुपमा सिफारिस गरिएको थियो । फुटबलका अनन्तले उत्कृष्ट खेलाडीको अवार्ड जित्दै एक थान मोटरसाइकल प्राप्त गरेका छन् । उनले मनोनयनमा परेका फुटबलरद्वय छिरिङ गुरुङ र सेसेहाङ आङदेम्बेलाई पछि पारेका हुन् ।

अवार्डको महिलातर्फ उत्कृष्ट वर्ष खेलाडी घोषित हुँदै इलामकी जुनी राईले एक थान स्कुटर प्राप्त गरिन् । उनले जुडोकी देविका खड्का र फेन्सिङकी कमला श्रेष्ठलाई पछि पारिन् । 

jhapa_sports_award 1

यस्तै वर्ष उत्कृष्ट खेलाडी (युवा) तर्फ फुटबलका रेजिन सुब्बा घोषित भए । उनले नगद २५ हजार र अवार्ड प्राप्त गरे । 

झापाका रेजिनले मनोनयनमा परेका कबड्डीकी अनुजा कुलुङ र जुडोकी मनिता श्रेष्ठ प्रधानलाई पछि पारे । 

त्यस्तै वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड करातेका मुख्य प्रशिक्षक मदनकुमार उप्रेतीले जिते । उनले नगद २५ हजार र अवार्ड प्राप्त गरे । झापाका उप्रेतीले मनोनयनमा परेका फुटबलका प्रवेश कटुवाल र पौडीका ओङदेन लामालाई पछि पारे । 

यस्तै पिपल्स च्वाइज अवार्ड महिला राष्ट्रिय फुटबल टोलीकी गोलरक्षक एन्जिला तुम्बापोले जितिन् । उनले नगद २५ हजारसहित ट्रफी प्राप्त गरिन् । 

त्यस्तै लाइफटाइम अचिभमेन्ट अवार्ड ओलम्पियन डम्बर कु“वरलाई प्रदान गरियो । उनले नगद ३५ हजार र अवार्ड प्राप्त गरे ।

उनीहरुले जनही नगद २५ हजार र अवार्ड प्राप्त गरेका थिए । ०६६ सालमा स्थापना भएको नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा झापाले पूर्व फुटबलर आशिषविक्रम नेम्वाङको स्मृतिमा विगत चार वर्षदेखि अवार्ड कार्यक्रम आयोजना गर्दै आएको छ ।