मोरङको सुन्दरहरैंचा नगरपालिकाले मेयर कप फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।
प्रतियोगिता सञ्चालनसम्बन्धी जानकारी दिनका लागि शुक्रबार आयोजित कार्यक्रममा बोल्दै सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले खेलकुदमा नगरपालिकाले यथेष्ट बजेट छुट्याएको बताए ।
प्रस्तावित इन्द्रपुर रंगशालालाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउने गरी काम भइरहेको उनले बताए । सो रंगशालाका लागि २८ बिघा जग्गा प्राप्ति गर्ने काम भइरहेको उनले जानकारी दिए ।
गछिया, लाटीझोडा, हरैंचा, शुक्रबारे, सुकुनाचौरी लगायतका खेल मैदानको स्तरोन्नति गर्न बजेट विनियोजन गरिएको समेत उनले जानकारी दिए ।
नगरस्तरीय खेलकुद विकास समिति बन्न नसक्दा खेल गतिविधि सञ्चालनमा सोचेजस्तो सहज हुन नसकेको उनको भनाइ थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथि सुन्दरहरैंचा नगरपालिकाकी उपमेयर धनमाया तामाङले स्थानीय खेलाडीलाई दक्ष बनाउन यस्ता प्रतियोगिता सहयोगी हुने बताइन् ।
सुन्दरहरैंचाको पछिल्लो पुस्ताले खेलकुदमा राम्रो प्रगति गरिरहेको बताउँदै चाँडै नै उपमेयर कप भलिबल प्रतियोगिता पनि सञ्चालन हुने जानकारी दिइन् ।
एन्फाका मोरङ महासचिव प्रकाश मास्केले मोरङ जिल्ला खेलाडी उत्पादनमा अगाडि रहेको दाबी गरे । अन्य स्थानीय तहले यस्ता प्रतियोगिता सञ्चालन गर्न नसकिरहेको बेला सुन्दरहरैंचामा प्रतियोगिता सञ्चालन हुनु गौरवको विषय भएको उनको भनाइ थियो ।
प्रतियोगिताको मिति तथा प्रतियोगितामा सहभागी हुने टिमको संख्या भने यकिन भइनसकेको आयोजकले जनाएको छ ।
अघिल्लो वर्ष नै सो खेल सञ्चालन गर्ने निर्णय भए पनि कोरोनाका कारण स्थगित भएको थियो ।