इनरुवा। सुनसरीको कोसी गाउँपालिका–३ जमुवा टोलका गङ्गाई दास मलाहाको हत्यारालाई कारबाही गर्नमा प्रहरी मौन रहेको पीडित परिवारले आरोप लगाएका छन् । 

कोसी गाउँपालिका–३ मा पत्रकार सम्मेलन गर्दै घटनाको पुनः छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ । प्रहरी अधिकारीले घटनालाई गुपचुप राख्ने कार्य गरेको भन्दै घटनाको सत्य–तथ्य छानबिन गरेर दोषीलाई कारबाही गर्न मृतकका छोरा शम्भु मुखियाले माग गरेका हुन् ।

२०७७ पुस ७ गते राति १०ः३० बजेको समयमा कपडा क्यारिङको विषयमा विवाद हुँदा सोही ठाउँका उदिचन्द मुखिया, कृपा मुखिया, मनोज मुखिया, सुवालाल मुखिया, पवन मुखियाले मुड्की र माछा काट्ने काठको मुङ्ग्राले आक्रमण गरी हत्या गरेको शम्भुले दाबी गरे ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले घटनाको फितलो अनुसन्धान गरेका कारण दोषीले उन्मुक्ति पाएको पीडित परिवारको आरोप छ । भारतीय बजारबाट अवैधरूपमा ल्याइएको कपडाको विषयमा विवाद हुँदा गङ्गाईलाई कुटिपिट गरेका कारणले गङ्गाईको मृत्यु भएको स्थानीय सुखीलाल मुखियाले बताए । 

अवैध कपडाको विषयमा विवाद हुँदा क्यारिङ गर्ने व्यक्तिले कुटपिट गरेका कारण गङ्गाईको मृत्यु भएको स्थानीय आशालाल मलाहको भनाइ छ । भन्सार छली गरेर भारतीय बजारबाट अवैधरूपमा ल्याइएको कपडा आफ्नो परालमा लुकाएर राखेको र त्यहाँ किन राखेको भन्दा झगडा भएपछि सोही क्रममा आफ्नो हजुरबुबा गङ्गाईलाई उदिचन्द, कृपा, मनोज, सुवालाल, पवनसहितका व्यक्तिले कुटपिट गरेर हत्या गरेको भए पनि प्रहरी प्रशासनले त्यो घटना लुकाउन तथा ढाकछोप गर्ने कार्य गरेको मृत्तकका नाति राजकुमार मुखियाले आरोप लगाए ।

घटनास्थलमा फेला परेको माछा काट्ने काठको मुङ्ग्रो, भारतीय अवैध क्यारिङ गरी ल्याइएको कपडा र त्यहाँ छोडिएका जुत्ता, चप्पलको सूक्ष्म अध्ययन नगरी प्रहरीले अनुसन्धानको फरक मुचुल्का बनाएको पीडित परिवारको आरोप छ ।

पोष्टमार्टम रिपोर्टमा समेत कुटपिटबाट मृत्यु भएको उल्लेख भएको दाबी पीडित परिवारको छ । प्रहरीलाई घटनाको सूक्ष्म अध्ययन गर्न आग्रह गर्दा आश्वासन मात्रै पाएको तर अनुसन्धान नभएको मृतककी नातिनी रेखादेवी मुखियाले बताइन् । हत्या गर्ने व्यक्तिलाई आफूले चिनाउँदासमेत प्रहरीले पक्राउ गर्नमा आनाकानी गरेको परिवारको आरोप छ ।

यता यस विषयमा सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापा भने प्रहरीले तथ्यमा आधारित रहेर अनुसन्धान गर्ने बताए । उनी भन्छन्, ‘पीडित परिवारलाई दोषीले बढीभन्दा बढी सजाय पाओस् भन्ने लाग्नु स्वभाविक हो तर, प्रहरीले तथ्यमा आधारित रहेर अनुसन्धान गर्ने भएकाले तथ्यभन्दा बाहिर जान सक्दैन ।’