नेपालमा दोस्रो लहरको कोरोना संक्रमणसँगै मृत्यु हुनेको दर पहिलेको तुलनामा उच्च देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिले कोभिड–१९ संक्रमणको दर विश्वकै उच्च रहेको मन्त्रालयले पुष्टि गरेको छ ।
नेपालमा कूल संक्रमितमध्ये १.१ प्रतिशत रहेको छ । कोभिड–१९ का कारण प्रति १० लाखमध्ये ११० जनाले ज्यान गुमाइरहेको तथ्यांक आएको छ । अमेरिकाको इस्टिच्युट फर हेल्थ मेट्रिक्स एण्ड इभ्यालुएसनले यही दरमा संक्रमण बढ्दै गए नेपालमा दैनिक १५० जनाको मृत्यु हुनसक्ने प्रक्षेपण गरेको छ ।
उच्च मृत्युको दोस्रो रेकर्ड, १५ दिनमा १५३ जनाले ज्यान गुमाए
वैशाख १ गतेदेखि १५ गतेसम्म नेपालमा कोभिड–१९ का कारण १५३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । वैशाख १२ गते भएको २८ जनाको मृत्यु कोभिड अवधीमा उच्च मृत्यु भएको दोस्रो रेकर्ड हो । यसअघि ०७७ कात्तिक १९ गते नेपालमा कोरोना महामारी अवधिकै सबैभन्दा धेरै ३० जनाको मृत्यु भएको थियो भने कात्तिक २६ गते तेस्रो बढी संख्या अर्थात २६ संक्रमितको मृत्यु भएको थियो ।

असोज पहिलो सातादेखि मंसिर अन्तिमसम्म नेपालमा कोभिड–१९ संक्रमण र मृत्युदर उच्च बिन्दुमा पुगेको थियो । यो तीन महिनाको अवधीमा नेपालमा कोभिड–१९ का कारण सबैभन्दा धेरै अर्थात् १ हजार ३४७ जनाले ज्यान गुमाए र नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ७३० पुग्यो । त्यसयता क्रमशः ओरालो लागेको मृत्युको संख्या पुस १५ गते शून्य रह्यो, जुन ५ महिनायताकै पहिलो रेकर्ड थियो । त्यसयता मृतकको संख्या २ देखि ३ को हाराहारीमा रह्यो । ०७७ माघ १५ देखि ३० गतेसम्म ४ पटक अर्थात् माघ महिनामा ४ दिन शून्य मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथांक छ । तर, चैतयता नेपालमा संक्रमित र मृतक दुवैको संख्या उकालो लागेको छ । वैशाखको आधासम्म आइपुग्दा नेपालमा दैनिक औसत १० जनाको कोभिड–१९ का कारण मृत्यु भएको तथ्यांक छ । चैत ३१ गते ३ हजार ५८ रहेको कूल मृतकको संख्या वैशाख १५ गते आइपुग्दा ३ हजार २११ पुगेको छ ।
वैशाखका १५ दिनमा कति संक्रमित र कति जनाको मृत्यु ?
१ गते संक्रमित – ६०३, मृत्यु – ३
२ गते संक्रमित – ५३४, मृत्यु – ५
३ गते संक्रमित – ९००, मृत्यु – ४
४ गते संक्रमित – ८४३, मृत्यु – ५
५ गते संक्रमित – १०९६, मृत्यु – ८
६ गते संक्रमित – १,२८१ – मृत्यु – ८
७ गते संक्रमित – १,९३६ – मृत्यु – ११
८ गते संक्रमित – २,३५१ – मृत्यु – १०
९ गते संक्रमित – २,४२८ – मृत्यु – ५
१० गते संक्रमित – २,५५९ मृत्यु – ५
११ गते संक्रमित – २,६१९ – मृत्यु – १४
१२ गते संक्रमित – ३,१२२ – मृत्यु – २८
१३ गते संक्रमित – ३,५५६ – मृत्यु – १२
१४ गते संक्रमित – ४,५२४ – मृत्यु – १८
१५. गते संक्रमित – ४,८९७ – मृत्यु – १७