धरान। नेपालमा कोरोना भाइरसको दैनिक सङ्क्रमित दरका आधारमा मृत्युदरलाई केलाउँदा भारतको भन्दा भयावह स्थिति रहेको देखाएको छ ।
नेपालमा बिहीबार ४ हजार ९ सय २८ जना कोरोना सङ्क्रमित पुष्टि हुँदा ३५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सङ्क्रमित दरको तथ्यलाई केलाउँदा नेपालमा शून्य दशमलव ७१ प्रतिशतको मृत्यु भएको देखाएको छ । जबकि भारतमा बिहीबार ३ लाख ७९ हजार २ सय ५७ जना सङ्क्रमित देखिए भने ३ हजार ६ सय ४५ को मृत्यु भएको छ ।
सङ्क्रमित दरको आधारमा मृत्यु दरलाई हेर्दा शून्य दशमलव ९६ प्रतिशत मात्रै देखाउँछ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा बुधबारको सङ्क्रमित आँकडालाई हेर्दा २ सय २८ प्रतिशतले कोरोना सङ्क्रमित बढिरहेको छ ।

पछिल्लो एक साताको तथ्याङ्कका आधारमा मन्त्रालयले सङ्क्रमित भएकाको बारे जानकारी गराउँदै भनेको छ, ‘नेपालमा २ सय २८ प्रतिशतले कोरोना सङ्क्रमित बढिरहेका छौं । यो निकै भयावह स्थिति हो ।’
वैशाख ७ गते स्वास्थ्य मन्त्रालयले आउँदो असारसम्म दैनिक ११ हजारको हाराहारीमा कोरोना सङ्क्रमित पुग्ने अनुमान गरेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले असारसम्म दैनिक ११ हजार सङ्क्रमित पुग्ने दाबी गरेका थिए । उनले असारसम्म सङ्क्रमितको सङ्ख्या ६ लाख नाघ्ने जनाएका थिए ।
मन्त्रालयले नयाँ भेरिएण्टका सङ्क्रमित बढेको दाबी गरे पनि हालसम्म कुन भेरिएण्टको हो भन्ने खुलेको छैन । भारतीय सञ्चारमाध्यम आउटलुकका अनुसार भारतमा देखिएको भेरिएण्ट १७ वटा देशमा देखिएको छ । यसलाई आधार मान्ने हो भने नेपालको भूसीमाको आधारमा नेपालमा पनि भारतीय भेरिएण्टको कोरोना फैलिएको अनुमान गर्न सकिन्छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका माइक्रोबायोलोजीका एडिसन प्रोफेसर डा. नारायण भट्टराईका अनुसार नेपालमा हालसम्म भेरिएण्ट पत्ता लगाउने मेसिन भए पनि प्रयोगमा ल्याइएको छैन । ‘काठमाडौंमा केही सयमअघि युके भेरिएण्ट भेटिएको छ भन्ने कुरा आएको हो’ उनी भन्छन्, ‘तर, अहिलेसम्म नेपालमै भेरिएण्ट पत्ता लगाउने काम भएको जस्तो लाग्दैन ।’
धरानको बीपी प्रतिष्ठानमा पनि भेरिएण्ट पत्ता लगाउने पुरानो ‘भर्सन’ को जेनेटिक सिक्वेन्सर नामक मेसिन रहेकाले त्यसलाई प्रयोगमा ल्याउनेबारे सोच बनाइरहेको उनी बताउँछन् । तर, यसका रिएजेण्ट महँगो हुने भएकाले नयाँ भर्सनको नेक्स्ट जेनेरेसन सिक्वेन्सर हालको अवस्थामा बढी प्रभावकारी मानिन्छ ।
भारतमा बी दशमलव एक दशमलव ६१७ नामक भेरिएण्ट फेला परेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ । जसलाई ‘डब्बल म्युटेण्ट’ भनिएको छ । यस प्रकारको कोरोना १७ देशमा फेला परेको जनाइएको छ । यस खालको भेरिएण्ट वेलायत, अमेरिकालगायतका देशमा पनि फेला परेको छ ।
नेपालमा हालसम्म कुल मृत्यु ३ हजार २ सय ४६ पुगेको छ । गतवर्ष देखिएको कोरोना भेरिएण्टको तुलनामा यस पटक देखिएको कोरोना भेरिएण्टमा ७० प्रतिशतभन्दा बढी सङ्क्रमण गर्न सक्ने क्षमता रहेको बताइन्छ । भारतीय सञ्चार माध्यमका अनुसार एकजना सङ्क्रमितले ४ सयभन्दा बढीलाई सङ्क्रमण गरेको उल्लेख छ ।
नेपालमा यही दरमा सङ्क्रमण दर देखिएमा मृत्युदर भयावह हुने सङ्केत स्वास्थ्य मन्त्रालयले पनि गरिसकेको छ । कोरोनाको दोस्रो लहरले सबैभन्दा बढी युवा उमेरका मानिसलाई प्रभावित बनाइरहेको छ । मन्त्रालयका अनुसार २४ वर्षदेखि ४० वर्षमुनिको उमेर समूहलाई बढी प्रभावित बनाइरहेको छ ।
नेपालमा दैनिक सङ्क्रमितको सङ्ख्या वृद्धि भइरहेको छ । बुधबार नेपालमा ४ हजार ८ सय ९७ जनामा कोरोना देखिएको थियो भने १७ जनाको मृत्यु भएको थियो । मृत्युदर एकै दिनमा १८ जनाले बढेको छ । बुधबार सङ्क्रमितका आधारमा शून्य दशमलव ३४७ प्रतिशत मात्रै मृत्युदर रहेको थियो ।
जुन भारतमा देखिएको सङ्क्रमितको तुलनामा मृत्युदर अत्यधिक बढी हो । नेपालमा खुल्ला सीमाका कारण पनि बढी सङ्क्रमितहरू बढ्दै गएको अवस्था छ । भारतसँग जोडिएको १४ सय किलोमिटर खुला सिमाना रहेको छ । यही परिस्थितिका कारण पनि नेपालमा भित्रिनेहरूलाई नियन्त्रण गर्न असहज हुँदै आएको प्रशासनले जनाउँदै आइरहेको छ ।