विराटनगर / विराटनगर भन्सार एजेण्ट सङ्घका सचिव कृष्णबहादुर थापाको मिलेमतोमा एउटै बिलविजकमा दोहोरो मालवस्तु र नक्कली प्रज्ञापन–पत्र बनाएर एक गाडी कपडा भन्सार छली गरी निकासी गरेको खुलेको छ ।
भन्सार अधिकृतको नेतृत्वमा गठन भएको छानबिन टोलीको प्रारम्भिक चरणको अनुसन्धानबाट विराटनगर–६ सरौचियाका लक्ष्मण र राजकुमार रौनियारले ल्याएको एक गाडी कपडा नक्कली प्रज्ञापन–पत्र र एउटै बिलविजकमा दोहोरो मालवस्तु ल्याएको खुलेको हो ।
राजकुमार दाजु र लक्ष्मण भाइ हुन् । उनीहरूको विराटनगरमा प्रणाम ट्रेडर्स रहेको छ । राजकुमार विराटनगर भन्सार एजेण्ट सङ्घका सचिव थापाको फर्मको प्रतिनिधि पनि हुन् । गत बिहीबार राति रौनियार दाजुभाइले भारतीय नम्बर प्लेटको बीआर २८ जीए २६०६ नम्बरको पिकअफ भ्यानमा ल्याएको कपडा भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो । भन्सार छली गर्ने पहुँचवाला रौनियारले ल्याएको कपडा भन्सारले नियन्त्रणमा लिएपछि कपडा र गाडी छुटाउन चलखेल सुरू भएको थियो ।
आइतबार विराटनगर भन्सार कार्यालयका अधिकृत तेजमणी काफ्लेको नेतृत्वमा अनुसन्धान टोली बनाइएको थियो । काफ्ले नेतृत्वको टोलीले गरेको अनुसन्धानबाट भन्सार एजेण्टसँग मिलोमतो गरी रौनियारले १८ लाख ५९ हजार ६ सय रुपैयाँको कपडा भन्सार छली गरी चोरी पैठारी गरेको खुलेको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवले जानकारी दिए । ‘एउटै बिलविजकमा पिकअप भेन प्रयोग गरी दोहोरो कपडा लगेको सीसी टिभी फुटेजमा पनि देखिएको छ’ विराटनगर भन्सार स्रोतले भन्यो, ‘प्रारम्भिक चरणको अनुसन्धानबाट भन्सार छली गरेको देखिएपछि तीन जनालाई प्रतिवादी बनाएको थियो ।’ रौनियार दाजुभाइले पिकअप भ्यानमा ६ हजार १ सय ९२ थान कपडा भन्सार छली गरी ल्याएका थिए । विराटनगर–६ सरौचिया घर भएका रौनियारले भन्सार एजेण्टसँग मिलेमतो गरी एउटै बिलविजकमा दोहोरो मालवस्तु भित्र्याएको सूचना थाहा पाएपछि भन्सार प्रमुख शिव भण्डारीले आकस्मिक चेकजाँच गरेका थिए ।

सेटिङ मिलाउन माहिर रौनियार भन्सार छली गरेको कपडा र गाडी छुटाउन शक्तिकेन्द्रदेखि सोर्स लगाएका थिए । तर, सफल हुन सकेनन् । लामो समयदेखि सबै क्षेत्रका अधिकारीहरुलाई नजराना थमाएर दैनिक निकै ठूलो परिमाणमा भन्सारमा न्यून बिजकीकरण गरिएका र भन्सार छलिएका सामान नक्कली प्रज्ञापनपत्रको भरमा उनले भित्र्याउने गरेको बताइन्छ ।
५६ लाख धरौटिमा एजेण्टसहित तीन जना रिहा
भन्सार छली गरेर एक गाडी कपडा चोरी, पैठारी गरेको आरोप लागेको विराटनगर भन्सार एजेन्ट संघका सचिब कृष्णबहादुर थापासहित तीन जना धरौटिमा रिहा भएका छन् ।
एजेण्ट थापासहित कपडा ल्याउने दाजुभाइ विराटनगरका लक्ष्मण र राजकुमार रौनियार ५५ लाख ९९ हजार ८ सय रुपैयाँ धरौटीमा रिहा भएका हुन् । विराटनगरमा उनीहरूको प्रणाम टे«डर्स रहेको छ । सोही ट्रेडर्सबाट नक्कली बिलविजक बनाएर कपडाको तस्करी गर्ने गरेको यसअघि पनि खुलेको थियो । केही दिनअगाडि राजस्व कार्यालय इटहरीले पनि राजस्व छली गरेको आशङ्कामा छापा मारेर कागजपत्र र बिलहरू बरामद गरी अनुसन्धानको लागि लिएर गएको छ । बुधबार विराटनगर भन्सार कार्यालयले ‘चोरी–पैठारी’ मुद्दामा बरामद भएको कपडा र राजस्व जोडेर बिगो माग दाबीअनुसारको धरौटी खुलाएको थियो । भन्सार खुलाएको ५५ लाख ९९ हजार ८ सय रुपैयाँ धरौटी रकम बुझाएर एजेण्ट थापा, कपडा ल्याउने राजकुमार र लक्ष्मण रौनियार छुटेको सूचना अधिकारी यादवले बताए । १० लाखभन्दा माथिको सामग्री भन्सार छली गरी चोरी–पैठारी गरेको पाइएपछि भन्सार ऐनमा ६ देखि १ वर्षसम्मको कैद सजायको व्यवस्था रहेको छ । यस प्रकरणमा जनही १–१ वर्षको कैद सजाय बराबरको ९ हजार रुपैयाँ पनि धरौटीमा प्रतिवादीहरूले बुझाएर रिहा भएको भन्सार कार्यालयले जनाएको छ । सो मुद्दाको फैसला भएपछि भन्सारले बरामद गरेको कपडा र गाडी लिलामी प्रक्रियामा लैजाने गर्दछ ।
निलम्बनमा पर्लान् भन्सार एजेण्ट थापा ?
भन्सार ऐनको दफा ५९ बमोजिम जरिबाना भएको वा यस ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीतको कुनै काम गर्ने वा आफ्नो कर्तव्य पूरा नगर्ने भन्सार एजेण्टलाई भन्सार अधिकृतले एक महिनादेखि ६ महिनासम्म निलम्बन गर्नसक्ने प्रावधान छ । सोही ऐनअनुसार भन्सार एजेण्ट कृष्णबहादुर थापा भन्सार छली गरि चोरी पैठारी मुद्दाका प्रतिवादी भएपछि निलम्बन हुनुपर्ने हो । यसअघि पनि यस्तै घटनामा विराटनगर भन्सार एजेण्ट हरि ठाकुर ६ महिना निलम्बनमा परेका थिए । त्यसबेलाका तत्कालीन विराटनगर भन्सार प्रमुख मिमाङ्शु अधिकारीले ठाकुरलाई ६ महिना निलम्बनमा राखेका थिए । सोही प्रकृतिका घटनामा भन्सार एजेण्ट थापाको हकमा के हुन्छ ? विराटनगर भन्सार प्रमुख शिव भण्डारीले ब्लाष्टसँग भने, ‘अहिले अनुसन्धान भइरहेको छ । अनुसन्धान अधिकृतले दिएको प्रतिवेदनको आधारमा कारबाहीको प्रक्रिया अगाडि बढ्नेछ । अहिले यस विषयमा यति नै भन्छु । थप अनुसन्धान अधिकृतले दिएको प्रतिवेदनको आधारमा प्रक्रिया अगाडि लैजानेछु ।’