बिर्तामोड । रोटरी क्लव अफ बिर्तामोड मिडटाउनले मनमोहन अस्पताललाई १ करोड २० लाख मुल्य बराबरको स्वास्थ्य उपकरण प्रदान गरेको छ ।

रोटरी इन्टरनेशनलको सहयोग तथा रोटरी क्लव अफ बिर्तामोड मिडटाउन, मनमोहन अस्पताल र रोटरी क्लव गाजियावाद भारतको सहकार्यमा सो उपकरण प्रदान गरिएको हो ।

अस्पताललाई ७ थान डायलासिस मेशिन, डायलाइजर रि–प्रोसेसिङ मेसिन एउटा, वाटर प्युरिफायर सिस्टटम र इलेक्ट्रिक वेड ७ थान प्रदान गरेको रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका अध्यक्ष भेषराज भण्डारी (प्रशान्त) ले बताए । क्लबले एक करोड २० लाख मूल्य वरावरको उक्त उपकारण प्रदान गरेको शुक्रवार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

वढ्दो जनघनत्व र स्वास्थ्य सेवालाई मध्यनजर गदै विपन्न तथा सर्वसाधारणलाई सहज र सुलभ स्वास्थ्य सेवा दिने उदेश्यले रोटरीले डायलासिससहित स्वास्थ्य उपकरण अस्पताललाई दिएको संजोजक रोटरीयन शुभ कुमाई पाठकले जानकारी दिइन् ।

अस्पतालले आवश्यक संरचना तथा व्यवस्थापन गरी सञ्चालन गर्ने गरी उपकरण दिइएको हो । डाइलोसिस गर्नबाट बञ्चित भएका बिरामीका लागि हाल नेपाल सरकारबाट तोकिएको २ हजार ५ सय रुपैयाँमा सेवा उपलब्ध गराउने अस्पतालका अध्यक्ष नरेश खरेलले बताए ।

नेपाल सरकारबाट इजाजत प्राप्त भइसकेपछि डायलासिस वापत लाग्ने शुल्क सरकारबाट लिएर निःशुल्क सेवा दिने उनको भनाई थियो । उनले अस्पततलमा उपकरण जडान गरी परीक्षणका लागि डायलासिस सेवा शुरु भइसकेको बताए ।