विराटनगर। प्रदेश १ सरकारले होल्डिङ सेण्टर बनाउन ढिलाइ गर्दा कोरोना सङ्क्रमण तीव्र रूपमा फैलिएको पाइएको छ । होल्डिङ सेण्टर नहुँदा भारतबाट आएका नेपाली नागरिकहरू विराटनगर रानी नाकादेखि सोझै घर जाने गरेका छन् ।
होल्डिङ सेण्टर निर्माण गर्ने जिम्मेवारी पाएको प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय उदासिन बन्दा भारतबाट आएकाहरू सोझै आ–आफ्नो घर जाँदा थप सङ्क्रमण बढेर जाने खतरा देखिएको हो ।
प्रदेशस्तरीय सङ्कट व्यवस्थापन समितिको बैठकले प्रदेशभित्रका पाँच सीमा नाकाहरूमा होल्डिङ सेण्टर निर्माण गर्ने निर्णय गरेको थियो । बैठकले सुनसरीको भोक्राहा, मोरङको रानी, झापाको काँकडभिट्टा, इलामको पशुपतिनगर र ओखलढुङ्गाको हर्कपुरमा होल्डिङ सेण्टर निर्माण गर्ने निर्णय गरेको छ ।
तर, सीमा नाकाहरूमा होल्डिङ सेण्टर अहिलेसम्म नहुँदा तीव्र रूपमा सङ्क्रमण फैलिइरहेको भारतबाट आएकाहरू सोझै घर जाने गरेकाले सङ्क्रमणको थप जोखिम बढेर जाने स्वास्थ्यकर्मीहरूले बताएका छन् । जनस्वास्थ्यविज्ञ डा. नवराज सुब्बाले महामारी तीव्र रूपमा फैलिएको बेला सङ्क्रमण बढेको देश भारतबाट आएकाहरू होल्डिङ सेण्टरमा नबसी घर जाँदा थप सङ्क्रमण बढेर जाने बताए ।

‘सङ्क्रमण तीव्र रूपमा फैलिएको देशबाट आएकाहरूलाई स्वास्थ्य परीक्षण गरेर दुई साता होल्डिङ सेण्टरमा राख्नुपर्ने हो । कोरोना सङ्क्रमण बढिरहेको छ, त्यसको रोकथाम र नियन्त्रणको प्रयासमा सरकारले गरेको तयारी निकै सुस्त देखिन्छ’ उनले भने, ‘पूर्वतयारीमा सरकारले ढिलाइ गर्दा भोलिको दिनमा सङ्क्रमणको अवस्था भयावह हुने खतरा बढेको छ ।’
तीव्र गतिमा कोरोना सङ्क्रमण फैलिइरहेको भारतका विभिन्न राज्यबाट आएकाहरू सार्वजनिक यातायातका साधनबाट आ–आफ्ना गन्तव्यसम्म जाँदा सङ्क्रमणको जोखिम थप बढेर जाने उनले बताए । ‘भारतबाट आएकाहरूलाई होल्डिङ सेण्टरमा राखेर सुरक्षित साथ गन्तव्यसम्म पु¥याउने व्यवस्था नभए अवस्था भयावह हुनेमा कुनै शङ्का छैन’–उनले भने ।
विराटनगरस्थित रानी नाकाबाट अहिले दैनिक १ सयदेखि दुई सय जनासम्म भारतका विभिन्न राज्यबाट नेपाल आइरहेका छन् । जसमध्ये एण्टिजेन परीक्षण गर्दा दैनिक ५ देखि ८ जनासम्म कोरोना पोजेटिभ आउने गरेको छ ।
सङ्क्रमण देखिएकाहरूलाई कहाँ लैजाने र त्यसको व्यवस्थापन नहुँदा समस्या आएको छ । गत बिहीबार भारतबाट आएका पाँच जनामध्ये एकै परिवारका तीन जनाको एण्टिजेन परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको थियो । होल्डिङ सेण्टर नहुँदा उनीहरू रातभरि विराटनगरको रानीस्थित रूखको छहारीमुनि रात काटेर घर गएका थिए ।
होल्डिङ सेण्टर सञ्चालनमा नआउँदा एण्टिजेन परीक्षणमा पोजेटिभ देखिएका पनि दिनभरि चर्को घाममा खुल्ला आकाशमुनि बस्न बाध्य हुने गरेको स्वास्थ्यकर्मीहरूको भनाइ छ । रानी नाकाका हेल्थ डेस्क प्रमुख डा. कमलकिशोर यादवले बिहीबारदेखि एण्टिजेन परीक्षणमा पोजेटिभ आएका बाहिर जिल्लाका व्यक्तिहरूलाई नोवेल अस्पतालको आइसोलेसन वार्डमा पठाउन थालिएको बताए । भारतबाट आएकाहरूमध्ये एण्टिजेन परीक्षणमा नेगेटिभ आएकाहरू सार्वजनिक यातायातको साधनबाट आ–आफ्ना गन्तव्यसम्म जाने गरेको उनले सुनाए ।
विराटनगरमा होल्डिङ सेण्टरका लागि ठाउँ छनौट गर्न नसकेकाले समस्या भएको छ । यसअघि डिएभी स्कुलमा होल्डिङ सेण्टर राखेको तर, स्कुललाई बुझाउनु पर्ने रकम प्रदेश सरकारले नदिएकाले अहिले राख्न नदिएको हो ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले होल्डिङ सेण्टर २–४ दिनभित्रै सञ्चालनमा ल्याउने बताएका छन् । ‘होल्डिङ सेण्टरको लागि स्थान छनौट भइरहेको छ’ उनले भने, ‘केही दिनभित्रै सञ्चालनमा आउनेछ ।’ उनले अचानक दोस्रो चरणको कोरोना सङ्क्रमण फैलिएकाले व्यवस्थापनमा कठिनाइ भएको बताए ।
‘यस प्रदेशका १४ वटै जिल्ला अस्पतालमा २० शøयाको कोरोना उपचारका लागि व्यवस्थापन गर्न आवश्यक बजेट पठाउने कार्य भइरहेको छ’ उनले भने, ‘झापाको मेची अस्पताल, कोशी अस्पतालको कोभिड उपचार केन्द्र, निजी अस्पतालहरूमा कोरोना सङ्क्रमितको उपचारका लागि व्यवस्थापन गरिसकेका छौं ।’