प्राथमिक स्वास्थ्य केन्द्र चतराले सेवा विस्तार गर्दै आंखा उपचार सेवा शुरु गरेको छ ।

सेवा फाउन्डेसनको विशेष सहयोग र नेत्र ज्योति संघ तथा डाक्टर रामप्रसाद पोखरेल आंखा अस्पताल धनकुटा र इटहरी आंखा अस्पतालको प्राविधक सहयोगमा आइतबारबाट सेवा सञ्चालन गरिएको हो ।

प्रत्येक दिन बिहान ८ बजेदेखि दिउंसो ४ बजेसम्म आँखाको पावर जांच समस्याको परीक्षण र उपचार गरिने स्वास्थ्य केन्द्रका व्यवस्थापन निर्देशक डाक्टर अनिल गिरीले बताए । उनले शनिबार तथा सार्वजानिक बिदाको दिनमा समेत खुल्ला रहने तर बुधबार बन्द रहने बताए  ।

छिट्टै नै स्वास्थ्य बिमा गरेकालाई निःशुल्क चस्मा र त्यसको फ्रेम प्रदान गरिने डा. गिरीले बताए ।  चस्माकाे पावर पनि केन्द्रमा नै बनाइने भन्दै डा. गिरीले इटहरी आँखा अस्पतालले नेत्र सहायक ललन राय र अर्का प्राविधिक निःशुल्क उपलब्ध गराउने भएको जानकारी दिए ।

केन्द्रले हाल २४ घण्टा आकस्मिक सेवा दिइरहेकाे छ ।  बिहान ७ बजेदेखि रातको ८ बजेसम्म ओपीडी, स्त्री तथा प्रसुती रोग, हाडजोर्नी , मेडिसिन र बाल रोग विशेषज्ञ सेवा दिइरहेको छ । सेवाग्राहीलाई थाइराइडको ल्याब परीक्षण र फिजियोथेरापी  सेवा पनि उपलब्ध गराएको  छ । 

दम, उच्च रक्तचाप, मुटु र मधुमेह जस्ता दीर्घ रोगको सेवा दिइरहेको केन्द्रले धरानको बीपी प्रतिष्ठानसंग सम्झौता अन्तिम चरणमा रहेकोले छिट्टै नै दांतको सेवा पनि उपलब्ध गराइने डा. गिरीले जानकारी  दिए ।