धरान । मोरङको कानेपोखरी गाउँपालिका–३ स्थित दखिनटोलमा एक साताअघि एक बालिकाको शङ्कास्पद मृत्यु भएको छ । त्यस मृत्युलाई लिएर अहिले गाउँघरमा विभिन्न आशङ्का गरिएका छन् ।

प्रकाश खड्काको घरमा कहिलेकाहीँ घरेलु कामदारको रूपमा काम गर्दै आएकी १६ वर्षीया पुतली भनिने मधेली चौधरीको शङ्कास्पद मृत्यु भएको हो । घटनास्थल महेन्द्र राजमार्गस्थित कानेपोखरीबाट करिब १६ किलोमिटर दक्षिणमा पर्छ ।

उनको शव वैशाख २२ गते अपरान्ह करिब ४ बजेतिर घरधनी खड्काको मकैबारीमा घोप्टो परेको अवस्थामा फेला परेको थियो । बालिकाको यौनाङ्गबाट रक्तश्रावसमेत भएको अवस्थामा फेला परेको मृतकका फुपाजु विशेश्वर चौधरीले बताए । उनले ब्लाष्टकर्मीसँग फोनमा कुरा गर्दै भने, ‘घटना शङ्कास्पद नै छ, भदैनीमाथि बलात्कार भएको हो कि जस्तो लाग्दैछ ।’ 

उनका अनुसार शव भेटिएको दिन उनकै माइजूले पोलेर खाने मकै लिन पठाएको केही समय बित्दा पनि नआएपछि खोजी गर्ने क्रममा घोप्टो परेको अवस्थामा भेटिएको थियो ।

‘जसको खेतमा मकै लिन गएको, त्यसैले मरिसकेको रहेछ भन्दै भने बोलाएर रङ्गेली पठाएको रहेछ’–उनले भने । घटनाका विषयमा जानकार स्थानीय देवेन्द्र लुइटेलका अनुसार मकै लिन गएको निकै समयसम्म नआएपछि खोजी गर्दा खेतको आलीमा खोप्टो परेर लडेको अवस्थामा भेटिएको घरधनी खड्काले नै उपचारका लागि रङ्गेली पठाएको थियो ।

तर, त्यहाँ मृत भइसकेको भनेपछि उपचारमा संलग्न चिकित्सकले घटना ‘सामान्य’ नभएकाले पोष्टमार्टमका लागि विराटनगर पठाइएको उनले बताए । उनले अनुसन्धानकै क्रममा रहेकाले यसै भन्न सक्ने अवस्था नरहेको बताए । 

घटना शङ्कास्पद देखिएपछि प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ । इलाका प्रहरी कार्यालय पथरीमातहतबाट यो घटनाको अनुसन्धान भइरहेको छ । तर, प्रहरीले घटनामा शङ्का गरिएजस्तो नदेखिएको जनाएको छ । इप्रका पथरीका डिएसपी कृष्ण खड्काले घटनाबारे सम्पूर्ण कुरा जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराइसकेकाले उतैबाट बुझ्नका लागि आग्रह गरे । ‘हामी जिल्ला मातहत नै हुने भएकाले यहाँ प्रवक्ता तोकिएको हुँदैन, तपाईंले उतैबाट बुझ्नुहोला । यति हो घटनाको अनुसन्धान भइरहेको छ’ –उनले फोनसम्पर्कमा भने । 

त्यहाँका स्थानीयले ‘बलात्कार’ भएको हुनसक्ने आशङ्का गरेका छन् । शव फेला परेको स्थानमा केही पनि नभएको र उक्त स्थानबाट ल्याई घरमै केहीक्षण घरेलु उपचार गरेर मात्रै अस्पताल पठाइएको अवस्था रहेको नाम नछाप्ने शर्तमा स्थानीय बताउँछन् । घटना अन्यत्र नै गराएर त्यहाँ शव लगिएको हुनसक्ने आशङ्का गरेका छन् ।

तर, पोष्टमार्टम रिपोर्टमा भने बलात्कारलगायतका कुनै पनि घटना नभएको रिपोर्ट प्राप्त भएको प्रहरी बताउँछ । यसबारेमा थप कुरा बुझ्नका लागि घरधनी प्रकाश खड्कालाई पटक–पटक ९८००९६२३९१ को एनसेल नम्बरमा फोन गर्दा फोन उठाएनन् । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी मानबहादुर राईले प्रारम्भिक पोष्टमार्टमको रिपोर्ट आइसके पनि भिसेराको रिपोर्ट आउन बाँकी रहेकाले अहिले अनुसन्धानकै क्रममा रहेको बताए ।

उनले भिसेराको रिपोर्ट आएसकेपछि मात्रै घटना के भएर भएको हो भन्ने खुल्ने बताए । घटनामा जोडिएकाहरूलाई बुझ्ने काम पनि भइरहेको बताए ।

प्रहरीको मुचुल्कामा भने मृतकको यौनाङ्गबाट रक्तश्राव भएको भन्ने नभएको उनले बताए । किनकि त्यसअघि मृतकलाई बचाउनका लागि उद्धार गरेर घरमा ल्याई घरेलु उपचार गरेपश्चात् मात्रै अस्पताल पठाएको र अस्पतालबाट मात्रै प्रहरीलाई सूचना भएकाले पनि मुचुल्कामा रक्तश्राव भएको नदेखिएको उनले बताए ।