विराटनगर/ दोस्रो लहरको कोरोना संक्रमण तिव्र रूपमा फैलिएर अस्पतालको शैय्या भरिएर विरामीले उपचार पाउन छोडेपछि मोरङको उर्लाबारी नगरपालिकाले अक्सिजनसहितको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ ।
नगरपालिकाले उर्लाबारी – ८ राजघाटमा रहेको स्वास्थ्य चौकीमा ११ शैय्याको अक्सिजन सहितको कोभिड अस्पताल निमार्ण गरि शनिबार देखि संचालनमा ल्याएको हो ।
महामारीको रूपमा फैलिएको दोस्रो चरणको कोरोना संक्रमणका कारण मानिसहरु अक्सिजन अभावमा अकालमै मृत्युवरण गरिरहेका बेला उपचार नपाएर कसैको ज्यान जान नदिन अक्सिजनसहितको कोभिड अस्पताल तयार गरि संचालनमा ल्याएको उर्लाबारीका प्रमुख खड्क फागोले बताए ।
‘उर्लाबारीमा पनि संक्रमण बढदै गएको छ । उपचार नपाएर मृत्युवरण गरेको घटना पनि सुन्दै आएको छौं ।

त्यही भएर हामीले अहिले तत्काल अक्सिजनसहितको ११ शैय्याको अस्पताल संचालनमा ल्याएको हो,’ उनले भने, ‘आवश्यकता अनुसार थप गर्दै लैजाने योजना बनाएका छौं ।’ कोभिड अस्पतालको सबै बेडमा अक्सिजन जडान गरिएको नगरपालिकाले जनाएको छ ।
यस अघि नगरपालिकाले उर्लाबारी–३ मंगलबारेमा रहेको प्रदेश स्तरिय मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा कोभिड अस्पताल संचालनका ल्याउने तयारी गरेको थियो ।
तर, अस्पताल प्रशासनले असहयोग गरेपछि नगरपालिकाले आफ्नै माहतमा रहेको स्वास्थ्य चौकीमा संक्रमितलाई राखेर उपचार गर्ने कोभिड अस्पताल तयार गरेको हो ।
राजघाटनमा संचालनमा आएको अस्पतालमा प्रत्यक्ष रूपमा स्वास्थ्यकर्मीहरूको उपस्थितमा संक्रमितको उपचार हुने बताइएको छ ।
उर्लाबारीमा हालसम्म दोस्रो लहरका कारण ७ जनाको मृत्यु भइसकेको छ भने ८५ जना भन्दा बढी सक्रिय संक्रमितको संख्या पुगिसकेको छ ।
स्थानिय स्तरमा अक्सिजन सहितको अस्पताल संचालनमा आएपछि अक्सिजन मात्र आवश्यक पर्ने विरामी प्रदेश १ को राजधानी विराटनगर सम्म जानुपर्ने बाध्यता पनि अन्त्य भएको स्थानियको भनाई छ ।