उर्लाबारी । कोभिड–१९ को दोस्रो लहरका कारण संक्रमितको संख्या बृद्धि हुनेक्रम दैनिक बढेपछि उर्लाबारीमा एक पछि अर्को आईसोलेशन सेन्टर खुल्ने क्रम जारी रहेको छ ।

शनिबार सम्म उर्लाबारीमा ३१ बेडको  क्षमताका आईसोलेशन सेन्टर स्थापना भई सकेका छन्।

यस अघि सम्म आईसोलेशन सेन्टरको अभावमा संक्रमितहरु उर्लाबारी बाहिर गएर उपचार गराउन बाध्य भएका थिए भने नगरमै आईसोलेशन स्थापन भएपछि ठूलो राहत भएको स्थानियले बताएका छन् ।

यसै बिच शनिबार मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेका अध्यक्ष नरेश पोख्रेलले अस्पताल परिसरमा तयारी गरेको १२ बेडको आईसोलेशन सेन्टरको उ्दघाटन गरेका छन् । 

अध्यक्ष पोख्रेलले  संक्रमितको संख्या बृद्धि भएमा आवश्यकता अनुसार बेड संख्या बृद्धि गर्ने प्रतिवद्धता जनाएका छन । उता शनिबार नै उर्लाबारीमा रहेको निजी अस्पताल गोदावारीले पनि १० बेडको आईसोलेशन सेन्टरको सेवा शुरु गरेको छ ।

सोही अवसरमा बथला देवी देउजा सोसिएल फाउण्डेशनले अस्पताललाई १ लाख ७० हजार मुल्य बरावरको एक थान पेसेन्ट मनिटर निशुल्क  हस्तान्तरण गरेको छ ।

अष्ट्रेलियामा रहेका सो फाउण्डेशनका संचालक सुमन मैनालीले सहयोगी मनहरु सगँ रकम संकलन गरी  अस्पतालका स्वास्थ्यकर्मी नबिन खड्का मार्फत अस्पताललाई उपलब्ध गराएका मे.सु.डा. दिव्य खनालले बताएका छन् ।

यसैगरी शुक्रबार उर्लाबारी नगरपालिकाले  पनि दुर्गापुरी स्थित राजघाट स्वास्थ्य चौकीमा ११ बेडको आईसोलेशन सेन्टर शुरु गरेको छ ।

नगर प्रमुख खड्ग फागो, उपप्रमुख लक्ष्मीदेवी भण्डारी, समन्धित वडाका वडाध्यक्ष कुलबहादुर कार्की, वडाध्यक्ष चिन्तामणी पौडेलले उक्त आईसोलेशन सेन्टरको संयुक्त रुपमा उद्घाटन गर्दै संक्रमित भएका नागरिकलाई स्वास्थ्य, यातायात, खाध्यन्न सहितका सवै सेवा निशुल्क प्रदान गरीने बताएका छन् ।

नगरमा दोस्रो लहर सँगै ९ जना नागरिकले ज्यान गुमाएका छन् भने करिव  सयक बढी संक्रमित रहेका स्वास्थ्य शाखाले जनाएको छ  ।