सप्तरीमा दैनिक रुपमा कोरोना भाइरसका संक्रमित बढ्दै गइरहेका बेला यहाँ भिटिएम (संकलित स्वाब राख्ने भाँडो) को अभाव भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार परीक्षणको दायरा बढाउने क्रममा भिटिएम (संकलित स्वाब राख्ने भाँडो) को अभाव भएको हो । दैनिक १८० देखि २०० सम्म स्वाब संकलन गर्दै आएको जनाउँदै अहिले आवश्यकताअनुसार भिटिएम (संकलित स्वाब राख्ने भाँडो) अभाव देखिएको स्वास्थ्य कार्यालय प्रमुख दुनियालाल यादवले बताए ।
अब १०० भिटिएम मात्र बाँकी रहेको भन्दै यस विषयमा प्रादेशिक स्वास्थ्य व्यवस्थापन आपूर्ति केन्द्रलाई जानकारी गराइसकेको उनले जानकारी दिए । तत्काल सप्तरीका लागि करिब पाँच हजार भिटिएमको आवश्यकता रहेको स्वास्थ्य कार्यालय प्रमुख यादवको भनाइ छ ।
भिटिएम आउन ढिलाइ भए स्वाब संकलन कार्य पनि प्रभावित हुन सकिने सम्भावना रहेको जनाउँदै रि–एजेन्ट र एन्टिजेन पनि अभाव हुने देखिएको उनले बताए । शुक्रबार मात्रै सप्तरीमा ४७ जना थपिएसँगै सक्रिय संकक्रमितको संख्या ७०० नाघेको छ ।

कोभिड–१९ संक्रमणको दोस्रो लहरबाट वैशाख महिनाभित्रमा सप्तरीमा २० जनाले ज्यान गुमाइसकेका छन् । त्यसमध्ये पछिल्ला तीन दिनमा मात्रै ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।