दोस्रो चरणको कोरोना भाइरस संक्रमण बढेसँगै यसको प्रभाव सबैभन्दा बढी युवा वर्गमा परेको पाइएको छ ।सङ्क्रमितमध्ये २१ देखि ३० वर्ष उमेर समूहका युवाको संख्या बढी रहेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।
अहिलेसम्मको संक्रमित संख्याको २८ दशमलव नौ प्रतिशत संक्रमण यस उमेर समूमा देखिएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । त्यसैगरी ३१ देखि ४० वर्ष उमेर समूहका २३ दशमलव छ प्रतिशत संक्रमित रहेका छन् । संक्रमित हुनेमा ४१ देखि ५० वर्ष उमेर समूहका १६ दशमलव एक प्रतिशत रहेको स्वास्थ्य कार्यालय इनरुवा सुनसरीका प्रमुख सागर प्रसाईँले बताए ।

एकाउन्नदेखि ६० वर्षसम्मका व्यक्ति १२ दशमलव दुई प्रतिशत संक्रमित रहेको उनले जानकारी दिए । त्यसैगरी ६१ देखि७० वर्षका ज्येष्ठ नागरिक छ दशमलव चार प्रतिशतमा कोरोना पोजिटिभ भएको पाइएको छ । त्यसैगरी ज्येष्ठ नागरिकतर्फकै ७१ देखि ८० वर्षको उमेर समूह तीन दशमलव एक प्रतिशत संक्रमित रहँदा ८१ देखि ९० वर्ष उमेर समूह एक प्रतिशत र सोभन्दा माथिका उमेर समूह शून्य दशमलव एक प्रतिशत संक्रमित पाइएको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख प्रसाईँले बताउनुभयो ।
त्यसैगरी कोरोना संक्रमित १० वर्षमुनिका बालबालिकाको संख्या तीन प्रतिशत रहेको उनले बताए । एघार देखि २० वर्ष उमेर समूहका पाँच दशमलव छ प्रतिशत संक्रमित पाइएको छ । अहिलेसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या दुई हजारभन्दा बढी रहेको छ भने मृतकको संख्या ४० पुगेको छ ।
जिल्लामा संक्रमणको दर दैनिकरूपमा बढ्दै गएका कारणले यसबाट बच्नका लागि नेपाल सरकारले जारी गरेको स्वास्थ्यको मापदण्ड पूर्णरूपमा पालना गर्नका लागि सबै जिल्लावासीमा स्वास्थ्य कार्यालय सुनसरीले आग्रहसमेत गरेको छ ।
–––