कोरोना संक्रमणदर घटेसँगै यहाँका अस्पतालका श्यया खाली हुँदै गएका छन् । एक हप्ताअघिसम्म यहाँका कोरोना उपचार हुने अस्पतालमा श्यया नपाएर बिरामीलाई बरण्डामा राखेरसमेत बिरामी गर्नुपर्ने अवस्था रहेकामा अहिले सबै अस्पतालका श्यया खाली हुँदै गएका छन् ।

दैनिक ठूलो संक्रयामा संक्रमित भर्ना हुने बाँकेमा संक्रमण घटेपछि अहिले अधिकांश बाहिरी जिल्लाका बिरामी बाँकेका अस्पतालमा उपचारका लागि आउने गरेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले बताए । उनका अनुसार संक्रमण दर घटेसँगै पश्चिम नेपालमै कोरोना उपचार केन्द्रका रुपमा रहेका नेपालगञ्जस्थित भेरी अस्पताल र कोहलपुरस्थित शिक्षण अस्पतालका कोभिड कक्षकै श्ययासमेत खाली भएका छन् । 

मंगलबार भेरी अस्पतालको कोभिड वार्डमा ३०, नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा २८, वेस्टर्न अस्पताल नेपालगञ्जमा १३, युनाइटेड अस्पताल नेपालगञ्जमा पाँच गरी ७६ श्यया खाली भएका वलीले जानकारी दिए ।

कोरोना उपचार हुँदै आएका अस्पतालमा रहेका जम्मा ३६१ कोभिड श्ययामा मंगलबार २८५ व्यक्ति उपचाररत छन् भने ७६ श्यया खाली छन् । बाँकेमा अहिले संक्रमितभन्दा कोरोना जितेर घर फर्किनेको संख्या धेरै छ । कोरोना संक्रमण रोकथामका लागि जारी निषेधाज्ञाको एक महिनापछि बाँकेमा संक्रमण र मृत्युदर घट्दै गएको छ । दैनिक १० जनाभन्दा धेरैको मृत्यु हुँदै आएकामा केही दिनयता मृत्युदरसमेत न्यून भएको छ । अस्पतालमा मृत्यु हुनेमा अधिकांश बाहिरी जिल्लाका रहेका बताए । 

यसैबीच कोरोना संक्रमणबाट यहाँ हालसम्म ५४० जनाको मृत्यु भएको छ । कोरोना महामारी संक्रमणको एक वर्षको अवधिमा उपचारका लागि यहाँस्थित भेरी अस्पताल र शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका बिरामीको मृत्यु भएको हो । मृत्यु हुनेमा सबैभन्दा धेरै बाँकेका रहेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले जानकारी दिए । 

उनका अनुसार हालसम्म कोरोना संक्रमणका कारण बाँकेका २८१ र अन्य जिल्लाबाट उपचारका लागि यहाँका अस्पतालमा भर्ना भएका २५९ गरी ५४० जनाको मृत्यु भएको हो । पछिल्लो पटक आज बिहान उपचारका क्रममा बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत थप दुईजना संक्रमितको मृत्यु भएको छ ।