धरान । कोरोना महामारीका बीच धरान ११ मा निर्माणाधीन स्वास्थ्य चौकीको वडाध्यक्ष बाबुलाल लामाले निरीक्षण गरेका छन् । 

स्वास्थ्य चौकीको निर्माण कार्य अन्तिम चरणमा पुगेको पनि जनाइएको छ । भवन गैरीगाउँमा निर्माण भइरहेको छ । चाँडै निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन लागिएको अध्यक्ष लामाले जानकारी दिए । 

यसैबीच वडाध्यक्ष लामाले आफ्ना वडाका कोरोना संक्रमित, तथा मृत्यु भएका घर परिवारमा पुगेर हौसला साथै स्वास्थ्य सामग्री वितरण गरेका छन् । हालसम्म धरान ११ मा १२ जना कोरोना संक्रमित भएका छन् भने तीनजनाको ज्यान गइसकेको छ । 

उनले हाल होम आइसोलेसनमा बसेकाहरुको घरघरमा पुगेर फलफूल, सेनिटाइजर तथा मास्क वितरण गरेका छन् । संक्रमितहरुले स्थानीय जनप्रतिनिधिको उपस्थितिले अभिभावक भएको महसुस गरेको वडा सचिव हिमाल गौतमले जानकारी दिए । त्यसक्रममा कोरोनाबाट सचेत रहनका लागि पनि आग्रह गरिएको छ । 

धरानमा कोरोनाको दोस्रो लहर सुरु भएयता सबैभन्दा सुरुमा धरान ११ का एकजना पुरुषको ज्यान गएको थियो । उनी धरानको सनराइज बैंकको शाखा कार्यालयमा सुरक्षागार्डका रुपमा कार्यरत थिए ।