विराटनगर । ठेकदार कम्पनीको ढिलासुस्तीले विराटनगरस्थित कोशी अस्पताल भित्र अक्सिजन प्लान्ट जडान अझै हुन सकेको छैन । 

गम्भीर र कडा लक्षण भएका कोरोना संक्रमितको उपचारमा अक्सिजन आवश्यक पर्छ । नेपाली चिकित्सकहरूको संस्था अमेरिका नेपाल मेडिकल फाउन्डेसनको १ करोड ७ लाख रुपैयाँ सहयोगमा काठमाडौंस्थित डाइनोक्यामले ठेक्का पाएको छ ।

ठेक्का पाएर काम सुरु गरेको लामो समय भइसक्दा पनि अहिलेसम्म प्लान्ट जडान हुन सकेको छैन । अक्सिजन प्लान्टका लागि कोशी अस्पताल परिसरभित्र संरचना बनिसक्दा पनि ठेकदार कम्पनीले तेस्रो मुलुकदेखि उपकरण ल्याउन ढिलाइ गर्दा प्लान्ट जडान हुन नसकेको हो । 

मंसिरमा सम्झौता भई वैशाख २५ गतेभित्र जडान गर्ने सम्झौता भएको थियो । तर, सम्झौता अवधि सकिँदा पनि अहिलेसम्म अक्सिजन प्लान्ट जडान हुन सकेको छैन । 

हाल संक्रमित बिरामीको चाप बढ्दै जाँदा अस्पताल प्रशासनलाई अक्सिजनको व्यवस्थापन गर्न हम्मे परेको छ । दैनिक ३० देखि ३५ जना संक्रमित भर्ना भइरहेकामा एक बिरामीलाई कम्तीमा २ देखि ३ सिलिन्डर अक्सिजन आवश्यक पर्छ । दैनिक कम्तीमा १ सय सिलिन्डर खपत हुनुका साथै थप त्यति नै संख्यामा जगेडामा राख्नुपर्ने कोशी अस्पतालका मेसु डा. चुमनलाल दासले जानकारी दिए । 

उनका अनुसार संक्रमितकै उपचारमा दैनिक ठूलो संख्यामा अक्सिजन सिलिन्डरको आवश्यकता परेको बताए । यसबाहेक अन्य गम्भीर बिरामीलाई पनि अक्सिजनको आवश्यकता पर्दा व्यवस्थापन गर्न समस्या भइरहेको उनको भनाइ छ । आफ्नै प्लान्ट भए यो झन्झटबाट मुक्ति मिल्ने उनले बताए । अहिले अस्पतालले निजी उद्योगसँग सम्झौता गरी अक्सिजन खरिद गर्दै आएको छ । 

कोशी अस्पतालका वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले अक्सिजन प्लान्ट जडान नहुँदा समस्या भएको बताए । ‘अहिले अस्पतालमा अक्सिजनको चरम अभाव छ, यस्तै समस्या नहोस् भनेर चिकित्सकहरूको संस्थाले १ करोड ७ लाख रूपैयाँ पनि दिइसकेको छ । रकम निकास भएपछि चाँडै काम सम्पन्न हुनुपर्ने हो,’ उनले भने, ‘अहिलेसम्म हुन सकेको छैन ।’

अहिले संक्रमितलाई अक्सिजन आवश्यक परिरहेकोले चाँडो प्लान्ट जडान गरिदिन आग्रह गर्दै आएको उनले बताए । कोशीमा अक्सिजन प्लान्ट जडान भएपछि दैनिक ३ सय सिलिन्डर उत्पादन हुने अपेक्षा गरिएको छ । ३ सय सिलिन्डर दैनिक उत्पादन हुँदा कोशी कोभिड युनिटमा भर्ना भएका संक्रमितको उपचारमा सहज हुने अस्पतालले जनाएको छ । 

कोशीमा अक्सिजन प्लान जडानको ठेक्का पाएको डाइनोक्यामका एमडी विज्ञान अर्यालले अक्सिजन उत्पादन गर्ने उपकरण कलकत्ता आइपुगेको थप केही दिन समय लाग्ने बताए । ‘अक्सिजन उत्पादन गर्ने उपकरण स्वलोभाकिया भन्ने देशबाट आउन नै समय लाग्यो । अहिले भारतको कलकत्ता आइपुगेको छ,’ उनले भने, ‘ढिलोमा एक साताभित्रमा कोशीमा अक्सिजन प्लान्ट जडान भइसक्छ ।’ 

स्मरण रहोस् अर्याल त्यही कम्पनीको प्रतिनिधि हुन्, जसले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अक्सिजन प्लान्ट पनि जडान गरेका थिए । तर, कमसल सामग्रीका कारण जहिल्यै बिग्रिँदै आएको छ ।