इनरुवा। देवानगञ्ज गाउँपालिकाले संक्रमितको संख्या बढेको भन्दै आजबाट लागु हुने गरी वडा नम्बर २ र वडा नम्बर ६ सिल गर्ने निर्णय गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत चुणामिण गुरागाईले आज मध्यरातीबाट लागु हुने गरी जेठ २० गते राती १२ बजे सम्मको लागि उक्त वडा क्षेत्र सिल गर्न लागिएको जानकारी दिए ।
सो विषयमा प्रशासनमा जानकारी गराई सकिएको बताएका गुरागाईले स्थानीय तह स्वयंले सरोकारवाला सँगको समन्वयमा सिल गर्न सक्ने प्रावधान अनुरुप निर्णय कार्यान्वयमा लैजान लागिएको बताए ।
सिल गरिएको अवधिमा औषधी पसल र स्वास्थ्य क्लिनिक बाहेक अन्य सबै बन्द रहने गुरागाईले बताए । उनले संक्रमण फैलदो क्रममा देखिएकाले घरमै बसेर सहयोग गरिदिन टोलवासी समक्ष आग्रह गरेका छन् । साथै उनले स्वास्थ्यका मापदण्डको पालनामा जोड दिन समेत आग्रह गरेका छन् ।

यसैबिच अधिकृत गुरागाईले कोरोना संक्रमितको संख्या बढ्दो क्रममा देखिए सँगै परीक्षणको दायरा समेत बढाइने बताएका छन् । उनले कोराना सँग लक्षण मिल्दो व्यक्तिहरुको पहिचान गरी परीक्षण गर्ने क्रमलाई तिव्रता दिइएको बताए ।
साथै उनले कन्ट्याक ट्रेसिङमा परेका व्यक्ति सहित स्वास्थ्यमा समस्या देखा परेकाहरुको हकमा समेत स्वाब तथा एन्टिजेन विधि मार्फत परीक्षण गर्ने गरिएको जनाए ।
स्वास्थ्य कार्यालय सुनसरीको तथ्याङ्क अनुसार देवानगञ्ज गाउँपालिकामा कोरोनाको दोस्रो लहरसँगै संक्रमित हुनेको संख्या १ सय ६७ पुगेको छ । संक्रमित मध्ये २ जनाको मृत्यु भएको कार्यालयले जनाएको छ ।
देवानगञ्जमा हाल सक्रिय संक्रमितको संख्या भने १ सय १९ रहेको स्वास्थ्य कार्यालयले सुनसरीले जानकारी दिएको छ ।