बेलबारी /मोरङको सुन्दरहरैंचा नगरपालिका क्षेत्रका कोरोना सङ्क्रमितको घरघरमा पुगेर प्रमुख शिवप्रसाद ढकालले सान्तवना दिइरहेका छन् । 

कोरोनाको दोस्रो लहर सुरु भएयता ७४० जना संक्रमित रहेका छन् । जसमध्ये ५ महिला र १२ पुरुषले ज्यान गुमाइसकेका छन् । ६८ जना निको भइसकेका छन् । सक्रिय संक्रमितको संख्या ६५५ जना रहेका छन् । उनीहरु होम आइसोलेसनमा रहेका छन् । उनीहरुको आत्मबल प्रदान गराउनका लागि सङ्क्रमितको घरघरमा पुगिरहेका हुन् ।

नगर प्रमुख ढकालसहित स्थानीय जनप्रतिनिधिहरु सङ्क्रमितको स्वास्थ्य अवस्था बुझ्नुका साथै आवश्यक सल्लाह र औषधि दिनका लागि घरघरमै पुगिरहेका हुन् । 

नगरप्रमुख ढकालले गाउँगाउँमा सङ्क्रमण बढ्दो अवस्थामा रहेकाले सङ्क्रमितको घरमै पुगेर आवश्यक परामर्शसहित औषधिसमेत वितरण गरिएको बताए । गाउँमा रोगका लक्षण देखिए पनि उपचारमा चासो नदेखाउनुका साथै त्रसित बनेर बस्ने अवस्था आएकाले नगरपालिकाको एक टोली नै बनाएर गाउँगाउँमा पुगेको उनले बताए । 

नगरप्रमुख ढकालले भने, ‘गाउँघरमा कोरोना सङ्क्रमणसँग मिल्ने लक्षण देखिए पनि जनचेतना अभावमा सतर्कता नअपनाएको र छिमेकमा समेत त्रास फैलिने अवस्था आएकाले सङ्क्रमितको घरघरमा पुगेर आवश्यक परामर्श दिँदै आएका छौँ ।’ ढकालले थपे, ‘हामी अहिले नगरवासीलाई कोरोनाको सङ्क्रमण हुनबाट कसरी सुरक्षित गर्न सकिन्छ भनेर लागिरहका छौँ ।’

स्थानीय तहका प्रमुख लगायत टोलीले सङ्क्रमितको घरमै पुगेर भेटघाटका साथै आवश्यक सरसल्लाह एवम् सुझाव दिँदा सङ्क्रमितले राहत महसुस गरेका छन् ।