धरान । धरान उपमहानगरले सञ्चालनमा ल्याएको धरान १९ स्थित हरियाली सामुदायिक वनस्थित भवनमा सञ्चालित आइसोलेसन सेन्टरको आइतबार निरीक्षण गरिएको छ ।
आइसोलेसन जेठ १ गतेदेखि सञ्चालनमा छ । हाल ७ जना धरानका संक्रमित आइसोलेसनमा बसिरहेका छन् । २५ बेड क्षमताको आइसोलेसन सेन्टर सञ्चालनमा आएको हो । जसमा नेपाल पत्रकार महासंघ सुनसरीले पनि सहकार्य गरिरहेको छ ।
धरान उपमहानगरका प्रमुख तिलक राई, महासंघका अध्यक्ष जनकऋषि राई, प्रमुख प्रशासकीय अधिकृत विदुरप्रसाद खनाल, स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहतालगायतको टोलीले निरीक्षण गरेका हुन् ।
जहाँ दुईजना स्वास्थ्यकर्मी खटिएका छन् । धरान १९ का वडाध्यक्ष पूर्ण लिम्बूको संयोजकत्वमा व्यवस्थापन समिति रहेको छ । उक्त समितिले नै आइसोलेसनमा रेखदेख गर्दै आएको छ । महासंघका अध्यक्ष राईले सुनसरीका पत्रकारहरु कोरोनाबाट समस्याग्रस्त बनेमा यहाँको आइसोलेसनमा बस्न सक्ने गरी व्यवस्था मिलाइएको बताए ।

दोस्रो लहरमा धरानमा तीनजना पत्रकारहरुलाई कोरोना संक्रमण देखिएको थियो । त्यसमध्ये एकजना पत्रकार संक्रमणमुक्त बनिसकेका छन् भने अन्य दुईजना होम आइसोलेसनमा छन् ।