धरान । घरमा काम गर्ने क्रममा तीस सेमिजति रड छिरेर गम्भीर घाइते भई उपचारका लागि आएका ३८ वर्षीय कोरोना संक्रमित युवाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सफल सल्यक्रिया गरिएको छ ।
बीपी प्रतिष्ठानको कोभिड अस्पतालमा सफल सल्यक्रिया गरिएको अस्पताल प्रशासनले जनाएको छ । उनलाई घरमा प्लाष्टर गर्ने क्रममा जेठ ११ गते दिउँसोतिर छातिको बायाँ भागमा तीस सेन्टिमिटर जति रड छिरेर बीपी प्रतिष्ठानमा ल्याइएको थियो । प्रतिष्ठानमा जाँच गर्दा कोरोना समेत देखिएपछि कोभिड अस्पतालमा राखेर सल्यक्रिया गरिएको थियो । सोही दिन करिब ४ घण्टा लगाएर जेनरल सर्जरी विभागका डा. सुरेशप्रसाद साहको नेतृत्वमा खटिएको चिकित्सकको टोलीले सफल सल्यक्रिया गरेको हो ।
प्रतिष्ठानका सहप्रवक्ता डा. चूरामणि पोखरेलका अनुसार साहको नेतृत्वमा डा. लोकेशशेखर जैसवाल (कार्डियो थोरासिक भास्कुलर सर्जन), डा. रुपेसप्रसाद साह, डा. विजय श्रेष्ठ, डा. रतिस कर्ण, डा. अर्विन्द, डा. पवन सापकोटा, त्यस्तै एनेस्थेसिया विभागका प्रा.डा. सत्येन्द्रनारायण सिंह, डा. योगेश ढकाल, डा. विशाल देव, डा. अरुण मण्डलको टिमले सफलतापूर्वक सल्यक्रिया गरेको हो ।
रडले करङ समेत छेडी फोक्सोको तल्लो भागमा चोट पुर्याउनुका साथै मुटुको पेरिकार्डिअममा समेत चोट पुर्याएको चिकित्सकले जनाएका छन् । लेफ्ट थोराकोटोमी, एक्सप्लोरेटिभ ल्यापाटोमी नामक सल्यक्रियामार्फत् रड निकालिएको हो । त्यसक्रममा फोक्सो तथा मुटुमा लागेको चोटको पनि उपचार गरिएको थियो ।

उनलाई सल्यक्रियापश्चात् कोभिड अस्पतालको आइसियुमा भर्ना गरी अन्य उपचार गरिएको थियो । पुनः जेठ १७ गते पीसीआर प्रविधिमार्फत् परीक्षण गर्दा नतिजा नेगेटिभ आएपछि उनलाई सर्जरी वार्डमा सारेर उपचारपश्चात् जेठ २२ गते अस्पतालबाट डिस्चार्ज गरिएको सहप्रवक्ता डा. पोखरेलले जानकारी दिए ।