धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले एक चिकित्सकलाई ‘कारबाही किन नगर्ने’ भन्दै पत्र काटेका छन् ।
प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले अर्थोपेडिक्सका एसोसिएट प्रोफेसर डा. विष्णु पोखरेललाई तीनदिनभित्र स्पष्टीकरण दिन भन्दै पत्र काटेका हुन् । जेठ ३० गते पत्र काटिएको छ ।
पत्रानुसार असार १ गते अर्थात् आजसम्ममा स्पष्टीकरणको जवाफ दिनुपर्ने हुन्छ । तर, प्रतिष्ठानमा उपकुलपति डा. गिरीको एकलौटी शासन सञ्चालन गर्न लागेको भन्दै तीव्र विरोध पनि भइरहेको छ । चिकित्सकहरूलाई डरत्रास देखाउँदै डा. गिरीले आफ्नो गल्तीको ढाकछोप गर्न खोजिरहेको आरोप लागेको छ ।
प्रतिष्ठानमा उनले विभिन्न कर्मचारीलाई एक ठाउँबाट अर्को स्थानमा सरुवा गर्ने र आफ्ना निकट मानिनेलाई भने बढुवा गर्नेलगायतको काम गरेको पनि आरोप लाग्दै आएको छ । तर, डा. गिरीले जेठ २६ गते गरेको पत्रकार सम्मेलनमा भने प्रतिष्ठानमा सबैभन्दा बढी राजनीति हुने गरेको बताए । उनले भित्रैबाट केही चिकित्सकहरूले कुराहरू बाहिर लाने बताउँदै आइरहेका थिए ।

डा. गिरी आएपछि थप भ्रष्टाचार, बेथिति र अनियमितता बढेको भन्दै धरान नागरिक समाजको पहलमा धरान नागरिक दबाव सञ्जाल गठन समेत भएको छ । उक्त सञ्जालले जेठ २५ गते उपकुलपति डा. गिरीसहित अन्य पदाधिकारीलाई एकहप्ते अल्टिमेटमसहितको ध्यानाकर्षण पत्र समेत दिएका थिए ।
उक्त ध्यानाकर्षण पत्रमा प्रतिष्ठानमा भइरहेको बेथितिको सुधार र सुझाव समेत दिइएको थियो । आज ध्यानाकर्षण पत्रको पनि म्याद सकिँदै छ । सञ्जालका संयोजक डा. राजेन्द्र शर्माको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति पनि गठन भएको छ ।
वार्ताको वातावरण तयार गर्नका लागि सिनेटरसमेत रहेका धरान उपमहानगरपालिकाका नगर प्रमुख र उपप्रमुखलाई संयोजनकारी भूमिका गरिदिन आग्रह गरिएको छ ।
डा. गिरीले प्रतिष्ठान सुधारका लागि कम्तीमा दुई वर्ष लाग्ने पत्रकार सम्मेलनमा बताएका थिए । यसैबीचमा उनले चिकित्सक पोखरेललाई स्पष्टीकरण सोधका हुन् । सोधिएको स्पष्टीकरण पत्रकमा सामाजिक सञ्जालमा प्रतिष्ठानको अस्तित्व ध्वस्त पार्ने गरी लेखिएको विषयलाई जोड दिइएको छ । प्रतिष्ठानको नियमावली २०५५ को नियम १०ः२६ बमोजिम आचारसंहिता विपरीत कार्य गरेको किन नभन्ने ? साथै तपाईलाई प्रतिष्ठानको सोही नियमावलीको नियम १०ः७ बमोजिम कारबाही किन नगर्ने ? उचित र पर्याप्त कारणसहित तीन दिनभित्र स्पष्टीकरण पेश गर्न भनिएको छ ।