डेनमार्क १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
सोमबार राति भएको खेलमा रुसलाई ४–१ गोल अन्तरले पराजित गर्दै डेनमार्क समूह उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो ।
खेलको ३८ औं मिनेटमा डाम्सगार्डले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका हुन् । उनले पिएरे इमिलको पासमा बक्स बाहिरबाट उत्कृष्ट गोल गरे ।
घरेलु मैदान पार्केन स्टेडियममा डेनमार्कलाई जित दिलाउन मिकेल डाम्सगार्ड, युसुफ पाउलसेन, आन्द्रेस क्रिस्टियनसेन र जोकिम मुहलेले एक एक गोल गरे ।
रुसका आर्टम ज्यूबाले एक गोल फर्काए ।
५९ औं मिनेटमा पाउलसेनले गोल गर्दै डेनमार्कको अग्रता २–० को बनाए । रुसका डिफेन्डरले दिएको ब्याक पासमा उनले गोल गरे ।
७० औं मिनेटमा आर्टमले पेनाल्टीमा गोल गर्दै रुसलाई २–१ को स्थितिमा ल्याए ।
७९ औं मिनेटमा क्रिस्टियनसेनले गोल गर्दै डेनमार्कलाई ३–१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ८२ औं मिनेटमा जोकिमले गोल गर्दै डेनमार्कलाई ४–१ को जित दिलाए ।
पहिलो खेलमा डेनमार्क फिनल्याण्डसँग १–० ले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा डेनमार्कले बेल्जियमसँग २–१ ले पराजित भएको थियो ।
यस जितसँगै समूह ’बी’ को डेनमार्कले ३ खेलमा ३ अंक जोड्यो । र, समूहको उपविजेता बन्यो ।
पहिलो खेलमा बेल्जियमसँग ३–० ले पराजित भएको रुसले दोस्रो खेलमा फिनल्याण्डलाई १–० ले हराएको थियो ।
डेनमार्कसँग पराजित रुस भने समूह चरणबाट बाहिरिएको छ । पुछारमा रहेको रुसले ३ खेलमा ३ अंक जोड्यो ।