भद्रपुर / नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाल चिकित्सक सङ्घ र मेडिकल एसोसिएसन नेपालको सहकार्यमा विपन्नको उपचारमा सहजता ल्याउन मेची अस्पताल भद्रपुरमा थालिएको प्रयास बारे प्रमुख सुपरिटेण्डेण्ट टङ्कप्रसाद बाराकोटीसित छलफल गरेका छन् ।

आफ्नो पहल  स्वरूप चिकित्सक र मेडिकल एसोसिएसनले अक्सिजन प्लाण्ट र भेण्टिलेटर उपलब्ध गराउने निश्चित भएपछि जडानका लागि छिटो काम अगाडि बढाउन केही दिनअघि मेची अस्पताल प्रशासनको नेतृत्व लिएका बाराकोटीसित छलफल गरेका हुन् ।

 निःशुल्क रूपमा अक्सिजन प्लाण्ट र भेण्टिलेटर सहयोग आउने भएपछि सिटौलाले विपन्न नागरिकको ज्यान बचाउन अस्पतालमा व्यापक सुधार गरेर अगाडि बढ्न मेसु बाराकोटीलाई सुझावसमेत दिएका थिए ।

प्रदेशसभा सदस्य ओमप्रकाश सरावगी, क्षेत्रीय सभापति गणेश पोखरेल, वडाध्यक्षद्वय गौरव सुब्बा मनोज, बन्धु कार्की, नेपाली काङ्ग्रेस झापा जिल्ला सदस्य विजय रिजाल, महिला सङ्घ क्षेत्रीय सभापति शर्मिला अधिकारीसहित अस्पताल पुगेका थिए ।

झापा क्षेत्र नम्बर ३ का पूर्व सांसद्समेत रहेका सिटौलाले अस्पतालको नयाँ भवनको अवस्था, स्वास्थ्य सामग्री जडान गर्ने स्थल, स्वास्थ्यकर्मीको अवस्था र कोभिडका बिरामीको चाप तथा उपचार अवस्था बारे चासो राख्दै त्यसमा परेको कठिनाइ समेतको जानकारी लिएका थिए ।

 सिटौलासित कुराकानी गर्दै बाराकोटीले नेपाल सरकारले पनि अक्सिजन प्लाण्टका लागि काम अगाडि बढाउने प्रक्रियामा जाँदा जाँदै कोरोना महामारी बढेकाले रोकिएको बताए । नेपाल चिकित्सक सङ्घ  तथा मेडिकल एसोसिएसन नेपाल मार्फत प्रतिदिन ११० सिलिण्डर भर्ने क्षमताको अक्सिजन प्लाण्ट निर्माणको जानकारी प्राप्त भएको उनले बताए ।

सोही सङ्घ तथा अन्य दाता गरी करिब ९ वटा भेण्टिलेटरसमेत प्राप्त हुने भन्दै आफू अस्पतालभित्रका समस्या हल गरी  सेवाग्राहीको सेवा प्रवाहमा प्रतिबद्ध रहने प्रष्ट पारेका थिए । भर्खरै अस्पतालको नेतृत्व लिएका बाराकोटीले अस्पतालमा उपचार सेवा प्रवाह गर्दाको ६ करोड बढी ऋण रहेका कारण समस्या परेको गुनासोसमेत गरे । उनले स्वास्थ्य बिमा बापत ५ करोड भुक्तानी नआउँदा औषधि उपचारमा सङ्कट परेको समेत जानकारी दिए ।