सङ्खुवासभा । जिल्लाबाट रोजगारीको सिलसिलामा दक्षिण कोरिया पुगेका सङ्खुवासभालीहरूको साझा संस्था सङ्खुवासभा सम्पर्क परिवार दक्षिण कोरियाले सङ्खुवासभालाई २ लाख ४२ हजार ५ सय ५५ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । सोमबार एक कार्यक्रमका बीच सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेललाई पूर्वस्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले हस्तान्तरण गरेका हुन् । 

पूर्वराज्यमन्त्री गुरुङले विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस रोकथाम तथा न्यूनीकरण गर्ने कार्यमा मद्दत पुगोस् भनेर प्रवासमा रहेर पनि स्वास्थ्य सामग्री उपलब्ध गराएको भन्दै धन्यवाद तथा आभार प्रकट गरे । ‘यो असाध्यै राम्रो काम भएको छ । कोभिड १९ विरुद्ध एकजुट हुन यसले बल मिलेको छ । सम्पूर्ण कोरोना सङ्क्रमितहरूलाई स्वास्थ्यलाभको कामना गर्दछु भने ज्यान गुमाउनु हुनेप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । हामी सबैले कोरोनालाई हेल्चेक्र्याइँ नगरी स्वास्थ्य सुरक्षा अपनाउन सबैमा अनुरोध गर्दछु’—पूर्वस्वास्थ्य राज्यमन्त्री गुरुङले भने ।

स्वास्थ्य सामग्री बुझ्दै सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले प्रवास कोरियामा रहेका सङ्खुवासभालीहरूले आफ्नो गाँस काटेर जिल्लावासीका लागि लाखौंको स्वास्थ्य सामग्री प्रदान गरेकोमा कोरियावासीलाई धन्यवाद ज्ञापन गर्दै सबै स्थानीय तहसम्म सामग्री पु¥याउने बताए । कोरोना सङ्क्रमणबाट बाँच्न र बचाउनका लागि सङ्खुवासभाभित्रका १० वटै स्थानीय तह र सुरक्षा निकायहरूलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

प्लस अक्सिमिटर १ सय थान, थर्माेमिटर १ सय थान, मास्क १ सय ४५ बक्स, पञ्जा ६६ बक्स र वेलनेस फर्मा प्रा.लि. बाट २५ बक्स मास्क सौजन्य गरी २ लाख ४२ हजार ५ सय ५५ रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सङ्खुवासभा सम्पर्क परिवार दक्षिण कोरियाले उपलब्ध गराएको हो । उक्त संस्थाले यसअघि पहिलो चरणमा ९० हजार बराबरको अक्सिजन कन्सण्ट्रेटरमा प्रयोग हुने स्टेपलाइजर जिल्ला अस्पताललाई हस्तान्तरण गरेको थियो ।

कोरोना भाइरस सङ्क्रमणका लागि उक्त संस्थाले दुई पटक गरी ३ लाख ४२ हजार ५ सय ५५ रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गरेको सङ्खुवासभा सम्पर्क परिवार दक्षिण कोरियाका अध्यक्ष बमबहादुर घलेले बताए । उनले कोरियामा सञ्चालन गरिएको आफ्नो पसिनाको कमाइको सानो अंश परिवारको जीवन रक्षाको लागि अभियान अन्तर्गत जुटाइएको रकमबाट खरिद गरी पठाएको बताए ।

आफ्नो जन्मभूमिमा बसिरहेका नागरिकलाई सङ्क्रमणका कारण अकालमा ज्यान गुमाउनबाट बचाउने लक्ष्यका साथ सङ्खुवासभा सम्पर्क परिवार दक्षिण कोरियाले प्राणघातक रोग कोभिड १९ विरुद्ध कोरियामा अभियान सञ्चालन गरेको संस्थाका अध्यक्ष घलेको भनाइ छ । कोरियामा कार्यरत सहयोगी अरू जिल्लाबासीहरूले गाँस काटेर जुटाएको रकमबाट खरिद गरिएको स्वास्थ्य सामग्री जिल्लाका १० स्थानीय तह र जिल्लाका  आइसोलेसन सेण्टरमा पुग्नेगरी पठाएको हो ।

सहयोगी सबै मनहरूलाई धन्यवाद ज्ञापन गर्दै स्वास्थ्य सामग्री खरिदमा सहयोगी भूमिका तथा मास्क सौजन्य गर्ने वेलनेस फार्मेसी काठमाडौंलाई समेत धन्यवाद दिएका थिए । जिल्लामा पर्ने बिपत्तिमा आवश्यकता अनुसार यसअघि पनि विभिन्न सहयोग गर्दै आएको र अझैपनि सहयोगलाई निरन्तरता दिने सङ्खुवासभा सम्पर्क परिवार दक्षिण कोरियाका उपाध्यक्ष राजेन्द्र गोलेले बताए ।