धरान / नेपालका चेलीबेटी अन्य देशमा बेचबिखनमा परेका खबर धेरै सुनिन्छ । तर, यो कथा धरान ल्याएर बेचिएकी म्यानमारकी युवतीको हो । जसमाथि धरानको एउटा अँध्यारो कोठामा महिनौं थुनेर हातखुट्टा बाँधेर बलात्कार भयो । 

सहारा खोज्दै प्रहरीको शरणमा पुगेकी उनलाई न्यायका लागि पहल गर्नुपर्ने प्रहरीले नै गिद्दे नजर लगाए र वर्षौंसम्म यौनशोषण गरिरहे । अहिले तिनै प्रहरी र उनको परिवारले यी पीडित युवतीलाई कतै उजुरी नगर्न, न्याय नखोज्न धम्की दिइरहेका छन् । 

उनको जीन्दगीको अँध्यारो कथा यसरी सुरु हुन्छ । म्यानमारको एउटा स्कुलमा ६ कक्षामा पढिरहेकी थिइन् उनी, उमेर १३ वर्ष । उनका मामा (आमाका कान्छा काकाका छोरा) मेघराज प्रधान भारतको असम, गुवाहाटी बस्थे । उनी बेला–बेला म्यानमार पुग्थे । दश वर्षअघि उनै मामाले ‘भान्जीलाई गुवाहाटी घुमाउन लान्छु’ भनेपछि उनैको साथ लागेर आएको सम्झिन्छिन् उनी ।

‘म मामाघर भनेर आएँ तर, मलाई तीन दिनमा धरान ल्याउनुभएछ’ उनी सुनाउँछिन्, ‘अहिले सोच्दा त म बेचिएकी रहेछु । त्यसपछि जीन्दगीमा नसोचेको दुःख भोगेँ र अहिलेसम्म भोगिरहेकी छु ।’

उनको भनाइमा मेघराजले उनलाई धरानमा एउटा घरको अँध्यारो कोठामा पु¥याए । उनलाई कोठामा थुनेर मामा बेला–बेला बाहिर निस्कन्थे । ‘मलाई भित्र थुनेर, दिसापिसाब गर्ने भाँडो भित्रै राखिदिनुहुन्थ्यो । उहाँ बाहिरबाट चाबी लगाएर हिँड्नुहुन्थ्यो’ उनी सुनाउँछिन्, ‘त्यसपछि मामाले रामकुमार राई नाम गरेको एउटा मान्छे लिएर आउनुभयो । उहाँहरूबीच पैसाका विषयमा पनि कुरा हुन्थ्यो, कहिले उपहारको कुरा गर्नुहुन्थ्यो । त्यसपछि त्यो मान्छेले मलाई लडाउने, हातखुट्टा बाँधेर जबरजस्ती गथ्र्यो ।

झ्यालढोका र कोठाका साना–साना प्वाल सबै थुनेर त्यस्तो ग¥यो, म भर्खर १३ वर्षकी थिएँ, जबरजस्ती यौनसम्पर्क गर्दा धेरै रगत बग्थ्यो तर, म रुन पनि सकिनँ, चिच्याउन पनि सकिनँ । नेपाली बोल्न जान्दिँनथेँ, कोठा बाहिर निस्कन पाउँदिनथेँ । त्यो एउटा नर्क थियो ।’

केही समयपछि मामा मेघराज उनका कागजपत्रसमेत लिएर भागे । म्यानमारको उनको परिचय–पत्र पनि उनैले लिएर गएछन् । रामकुमार राई भने बेला–बेला आउने र जबरजस्ती यौनशोषण गर्ने गर्थे । त्यही क्रममा उनी गर्भवती बनिन् । त्यसपछि उनले धरानको भानुचोकस्थित राम होटलमा ल्याएर राखेको र त्यसपछि रामकुमार पनि भागेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘बच्चा हुने बेलामा तारा शाक्य भन्ने दिदीसँग भेट भयो । उहाँले छाताचोकको पुरानो हस्पिटलमा लगेर राख्नुभयो । त्यहीँ खाना खाएँ, बसेँ ।’

मामा र रामकुमार उनलाई छाडेर हिँडेपछि रेशमको कपडा बुनेर केही समय जीवन चलाइन् । म्यानमारमै सिकेको कपडा बुन्ने सीपले उनलाई सहज भयो । ५० हजार रुपैयाँ धरानको वराह बचत तथा ऋण सहकारीमा पनि जम्मा गरिन् । आफू यहाँसम्म आउँदाको कथा उनले एक जना महिला प्रहरीलाई सुनाएकी थिइन् । उनले भनिन्, ‘उहाँसँग भेट्दा तिमीले सङ्घर्ष गरेकी छ्यौ भनेर हौसला दिनुहुन्थ्यो ।’

त्यही क्रममा करिब चार वर्षअघि धरानमा प्रहरी हवल्दार जितेन्द्रनारायण मण्डल (हाल असइ)सँग भेट भयो । ‘उहाँले तिम्रो अवस्था बुझेँ, म सहयोग गर्छु, मसँग यौनसम्बन्ध राख भन्नुभयो । मैले आफ्नो सबै कुरा बताएँ र मलाई श्रीमती बनाउने भएमात्र सम्बन्ध राख्छु, भनेँ’ उनी भन्छिन्, ‘उहाँले मलाई विश्वास गर, मैले विहे गरेको छैन, सँगै राख्छु भनेर होटलमा लानुभयो । त्यसपछि इटहरीमा दुई वर्ष कोठा खोजेर राख्नुभयो ।’

उनले सहकारीमा जम्मा गरेको रकम पनि पटक–पटक गरी जितेन्द्रलाई बुझाएकी थिइन् । त्यसबाहेकको अर्को पचास हजार पनि जितेन्द्रले लगेको उनी बताउँछिन् । इटहरी बस्दा उनीहरूबीच झगडा भयो । त्यसपछि उनले सँगै नबस्ने भनेर प्रहरीमा उजुरीसमेत दिइन् । तर, प्रहरीले आर्थिक लेनदेन भनेर मिलापत्र गरेको कागज बनाइदियो । ‘मेरो बोल्ने मान्छे कोही थिएन, उनीहरूले नै के के कुरा गरे त्यसपछि मलाई पैसा फिर्ता गरेर पठाए’ उनी भन्छिन्, ‘तर, म अलि पर पुगेपछि जितेन्द्र मोटरसाइकलमा आएर प्रहरीमा गरेको कागजले केही फरक पर्दैन, म माया गर्छु । सँगै बस्नुपर्छ भनेर फकाए । अनि त्यो पैसा पनि फिर्ता मागेर लगे ।’

त्यसपछि इटहरीमा उनीहरू फेरि सँगै बसे । युवतीको पेटमा बच्चा बसेपछि दुईपटक जितेन्द्रले दबाव दिएर गर्भपतनसमेत गराएको उनी बताउँछिन् । गर्भपतन गराउन विभिन्न स्वास्थ्य केन्द्र गएका र परीक्षण गरेका कागजात देखाउँदै उनी भन्छिन्, ‘मैले हामी यत्रोवर्ष सँगै बस्यौं, बच्चा बनाऔं भन्दा जबरजस्ती अहिले नबनाउने भन्दै इच्छा विपरीत गर्भपतन गराउनुभयो ।’

जितेन्द्रले आफू सरुवा भएसँगै कहिले भोजपुर, कहिले झापा, कहिले इटहरी, कहिले लौकही पु¥याएर होटलमा राखे । त्यसपछि हाल धरानमा उनले कोठा भाडा तिरेर राखिदिएका थिए । ‘उहाँले तिमी कोठा खोज, म सामान पठाइदिन्छु भनेर गाडीमा सामान पठाइदिनुभयो । अस्ति भर्खरै ६ हजार रुपैयाँ पठाउनुभएको थियो ।’

जेठ १० मा जितेन्द्रले इटहरीको एउटा होटलमा बोलाएर राखेको र आफू झापा सरुवा भएको र अफिसको काम धेरै हुने भएकाले धेरै फोन नगर्नू भनेको उनले बताइन् । उनले पछि थाहा पाइन्, जितेन्द्रको त अर्कै श्रीमती रहेछ । उनी छाँगाबाट खसे झैं भइन् । त्यसपछि त जितेन्द्रले पनि फोन गरेर आफूले बहिनी मानेको, पीडित देखेर उद्धार गरेको बताउन थाले ।  ‘मलाई श्रीमती छैन, विश्वास गर भनेर त्यत्रोवर्ष कोठा लिएर राख्नुभयो । उहाँका धेरै स्टाफले मलाई जितेन्द्रको श्रीमती भनेर चिन्छन् तर, अहिले बुझ्दा अर्कै श्रीमती रहेछ, मलाई त चिन्दिनँ पो भन्नुहुन्छ’ उनी भन्छिन्, ‘अहिले श्रीमान् श्रीमती भएर दिनदिनै फोन गरेर मार्ने धम्की दिनुहुन्छ ।’

उनीसँग एउटी छोरी पनि छिन् । तर, उनको नागरिकता नहुँदा छोरी पढाउन पनि समस्या भएको छ । उनी भन्छिन्, ‘मलाई तीन जनाले यस्तो समस्यामा पारे, म न म्यानमारकी भएँ, न त नेपालकी । मानवताको नाताले पनि न्याय चाहन्छु ।’

कतै उजुरी नगर्नू भन्दै धम्की

जितेन्द्र र उनकी श्रीमतीले बारम्बार फोन गरेर धम्काउने र चिन्दिनँ भन्न थालेपछि उनी मङ्गलबार प्रदेश प्रहरी कार्यालय विराटनगर पुगिन् । उनले डिआईजीलाई भेट्न चाहे पनि पहिलेका सरुवा भइसकेको र नयाँ आइनपुगेकाले भेट हुन पाएन । त्यसपछि उजुरी दिएर आएको उनी बताउँछिन् । उनी भन्छिन्, ‘मैले त्यहाँको महिलासेल र अरू सरहरूलाई पनि सबै कुरा बताएँ तर, उहाँहरूले उसको श्रीमती भएकाले तपाईंलाई पनि कारबाही हुनसक्छ भन्नुभयो । मलाई उहाँको श्रीमती भएको थाहै थिएन । मलाई झुक्याउनुभयो अनि प्रहरीले भने मलाई नै कारबाही हुन्छ भन्नुहुन्छ ।’

उनले प्रहरीमा उजुरी दिएको खबर जितेन्द्रले तुरुन्तै पाएछन् । त्यसपछि फोन गरेर धम्क्याइरहेका छन् । आफ्नो पीडा सुनाउन ब्लाष्ट कार्यालयमा आइपुगेकी उनलाई जितेन्द्र र उनकी श्रीमतीसँग फोनमा कुरा गर्न लगाउँदा श्रीमतीले पनि जितेन्द्रको खोजी नगर्न भन्दै धम्क्याइन् । त्यसपछि जितेन्द्रले सुरुमा ‘तिमी को हो ? चिन्दिनँ’ भने । उनले ‘यत्रो वर्षसँगै बसेर चिन्दिनँ भन्न लाज लाग्दैन ?’ भने पनि जितेन्द्रले भने, ‘तँलाई पीडित देखेर उद्धार गर्न खोजेको हुँ । बहिनी मानेको हुँ ।’ उनले फेरि भनिन्, ‘यत्रो वर्ष सँगै सुतेर बहिनी भन्न लाज लाग्दैन ?’ त्यसपछि जितेन्द्रले अश्लील गाली गर्न थाले । आफूले यौनसम्बन्ध राखेको भने स्वीकारेका छन् । तर, उल्टै युवतीलाई नै दोष थोपर्दै भने, ‘तँलाई लाज लागेन भने मलाई के को लाज......?’

उनले युवतीलाई प्रहरी, पत्रकार र महिला अधिकारकर्मीसँग नजान धम्क्याए । उनले फोन गरेर प्रहरी कार्यालयमा दिएको उजुरी फिर्ता गरे चार–पाँच लाख दिने भन्दै फकाउने गरेका पनि उनी बताउँछिन् । उनी भन्छिन्, ‘कहिले धम्क्याउनुहुन्छ, कहिले पैसा दिन्छु भन्नुहुन्छ, उहाँले मलाई बहिनी मानेको हो भन् भन्नुहुन्छ । म कसरी झुट बोल्नु ?’

युवतीलाई फोन गरेर कतै उजुरी नगर्न धम्की दिइरहेका जितेन्द्रनारायण मण्डलले धरान महिला सञ्जालका पदाधिकारी र महिला अधिकारकर्मीलाई फोन गरेर केटीले आफूलाई फसाउन खोजेको भन्दै आफू निर्दोष रहेको भन्दै सफाइ दिने गरेको पाइएको छ । महिला सञ्जालकी अध्यक्ष चेतना श्रेङले फोन गरेर युवतीसँग घटना बारे बुझेकी छन् भने महिला अधिकारकर्मी मीना पुलामीले पनि युवतीसँग घटनाबारे बुझेकी छन् । उनीहरूलाई जितेन्द्रले नै फोन गरेर युवतीको नम्बर दिएका थिए । सञ्जालकी अध्यक्ष चेतना श्रेङ जितेन्द्रले आफूलाई सोधेपछि युवतीसँग जानकारी लिएको बताउँछिन् । उनी भन्छिन्, ‘वास्तविकता बुझेर पीडितलाई सहयोग गर्छौं ।’

‘असुरक्षित भएँ’

जितेन्द्र र उनकी श्रीमतीले दैनिक फोन गरेर धम्की दिने गरेपछि आफू असुरक्षित भएको उनी बताउँछिन् । ‘खाली मेरा केटाहरूले तँ कहाँ जान्छेस् याद गरिरहेका छन्, मृत्युको दिन गन्दै गर् भन्नुहुन्छ । दुई–चार बुट हानेर तँलाई सुट गरिदिन्छु भन्नुहुन्छ’–उनले भनिन् । उनका अनुसार बाटो हिँड्दा हिँड्दै मोटरसाइकलमा आएका एक महिला र एक पुरुषले तपाईं जितेन्द्रलाई चिन्नुहुन्छ ? भन्दै सोधखोज गरे । उनी भन्छिन्, ‘दुई जनाले नजिकै मोटरसाइकल रोकेर सोधखोज गरे । तपाईंलाई सहयोग गर्छौं, भने तर, उनीहरूलाई उसैले पठाएको हो कि भन्ने शङ्का लागेको छ ।’

‘पीडित देखेर सहयोग मात्र गरेको हुँ’

हाल बिर्तामोडस्थित ट्राफिक प्रहरी कार्यालयमा कार्यरत रहेको बताउने जितेन्द्रनारायण मण्डल भने आफूले ती युवतीलाई पीडित देखेर सहयोग मात्र गरेको बताउँछन् । उनले आफूले धरानमा हुँदा चिनजान भएको र इटहरीमा कोठा खोजेर राखेको भने स्वीकार गरे । 

उनले आफूले सहयोग गरेपछि ती युवतीले पहिले पनि आफू विरुद्ध इटहरी प्रहरीमा उजुरी दिएको र मिलापत्र गरेको बताए । हाल प्रदेश प्रहरी कार्यालयमा आफू विरुद्ध उजुरी परेको बताउँदै उनी भन्छन्, ‘मैले मानवताका नाताले सहयोग गरेका थिएँ तर, म माथि नै आरोप लागेको छ ।’

police

युवतीको पेटमा ट्युमर भएकाले आफूले त्यो फाल्न आफूले अस्पताल लगेको तर, गर्भपतन गराएको कुरा साँचो नभएको दाबी गरे । युवतीसँग फोनमा यौनसम्बन्ध स्वीकार गरेको बारे प्रश्न गर्दा उनले भने, ‘त्यो त मैले उदाहरण मात्र दिएको हुँ ।’ आफूले धम्की दिएको पनि उनले अस्वीकार गरे ।

उनले युवतीले उल्टै आफू र श्रीमतीलाई धम्की दिने गरेको दाबी गरे । उनले आफूले महिला सञ्जाललाई यथार्थ बुझ्न फोन गरेको बताए । ती युवतीलाई इटहरीमा कोठा खोजिदिने मैया गुरुङ जितेन्द्रले कोठा खोज्न आग्रह गरेपछि आफूले खोजिदिएको र जितेन्द्रले बेलाबेला तरकारी, खानेकुरा ल्याइदिने गरेको थाहा पाएको तर, उनीहरूको सम्बन्धबारे थाहा नभएको बताइन् ।