विजयपुर । धरानमा सम्पन्न अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिगको ओभरअल एक्युरेसीतर्फ अमन थापा मगर च्याम्पियन बनेका छन् ।
नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघको आयोजनामा भएको प्रतियोगितामा उनले उत्कृष्ट प्रदर्शन गर्दै १ लाख ५० रुपैयाँसहित उपाधि हात पारे । प्रतियोगितामा सागर नेपाली दोस्रो हुँदै १ लाखसहित मेडल प्राप्त गर्न सफल भए भने भारतका अक्ष कुमार तेस्रो स्थानमा रहँदै ७५ हजारसहित मेडल जिते ।
खुला महिलातर्फ भारतकी श्रेयसी तामाङ प्रथम भइन् भने ईक्सा राई दोस्रो र विद्या राई तेस्रो स्थानमा रहिन् । उनीहरूले क्रमशः ४० हजार, २५ हजार र १५ हजार पुरस्कार प्राप्त गरे ।
टिम प्रतिस्पर्धामा अरुण जालारी, अञ्जन कुँवर, पवन परियार र रिकी पोडेको टोली पहिलो बन्न सफल भयो । युवराज सुनुवार, सुमनजङ थापा, विष्णु तिमल्सिना र रोशन बस्नेतको टोली दोस्रो तथा कृष्णबहादुर क्षेत्री, अमन थापा र विष्णु कार्कीको टोली तेस्रो भयो । विजेता टोलीहरूले क्रमशः ५० हजार, ३० हजार र २० हजार पुरस्कार प्राप्त गरेका छन् ।
नेसनल महिला एक्युरेसीतर्फ ईक्सा राई पहिलो, विद्या राई दोस्रो तथा देवकीमाया सुनुवार तेस्रो भइन् । उनीहरूले क्रमशः ३० हजार, २० हजार र १० हजार पुरस्कार प्राप्त गरे ।
त्यस्तै, नेसनल पुरुष एक्युरेसीतर्फ अमन थापा पहिलो, सागर नेपाली दोस्रो र पवन परियार तेस्रो भए । उनीहरूलाई क्रमशः ३० हजार, २० हजार र १० हजार पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । वैशाख २५ गतेदेखि धरानमा सञ्चालन भएको प्रतियोगितामा नेपाल र भारतका गरी ३२ खेलाडी सहभागी थिए । प्रतियोगिताभर आकाशमा खेलाडीहरूको कौशल, नियन्त्रण र सन्तुलनले दर्शकको ध्यान खिचेको थियो ।प्रतियोगिताले धरानलाई साहसिक खेल पर्यटनको केन्द्रका रूपमा थप चिनाउन सफल भएको संघका अध्यक्ष भुपेन्द्र चाम्लिङले जानकारी दिए ।