साविक विजेता ब्राजिल कोपा अमेरिका २०२१ को फाइनलमा पुगेको छ । मंगलबार विहान सम्पन्न पहिलो सेमिफाइनल खेलमा पेरूलाई १–० गोलले पराजित गर्दै ब्राजिल उपाधि नजिक पुगेको हो । खेलको ३५ मिनेटमा गोल गर्दै पाक्युटाले ब्राजिललाई अग्रता दिलाएका थिए । ब्राजिलको जितमा लुकास पाक्युटा नायक सावित भए ।
नेइमारले उपलब्ध गराएको पासमा उनले पेनाल्टी बक्सबाट गोल गरेका थिए । उनले गरेको एक मात्र गोलको मद्दतमा आयोजक ब्राजिल लगातार दोस्रो पटक कोपा अमेरिकाको फाइनलमा पुग्न सफल भयो । नौ पटकको विजेता ब्राजिलले सन् २०१९ को उपाधि भिडन्तमा पेरूलाई पराजित गर्दै उपाधि जितेको थियो ।
ब्राजिलले २००४ र २००७ मा लगातार उपाधि जितेको थियो। दुवै फाइनलमा ब्राजिलले अर्जेन्टिनालाई हराउँदै उपाधि कब्जा गरेको थियो । पेरूले दोस्रो हाफमा ब्राजिलमाथि दबाब राखेपछि फिनिसिङमा सफल हुन सकेन । अब उपाधिका लागि ब्राजिलले अर्जेन्टिना वा कोलम्बियासँग प्रतिस्पर्धा गर्नेछ ।
कोलम्बिया र अर्जेन्टिनाबीचको दोस्रो सेमिफाइनल बुधबार विहान हुनेछ ।