महोत्तरी / महोत्तरी प्रहरीले सुजिता ठाकुरको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जनालाई सार्वजनिक गरेको छ । मङ्गलवार जिल्ला प्रहरी कार्यालय महोत्तरीले जलेश्वरमा पत्रकार सम्मेलनमा सुजिताको हत्यामा संलग्न रहेको भन्दै मृतकका देवर लोहारपट्टी नगरपालिका ७ का २९ वर्षीय रूपेश ठाकुरलाई सार्वजनिक गरेको हो ।
महोत्तरीका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश विष्टका अनुसार सुजिताको हत्यामा देवर रूपेशको मात्र संलग्नता रहेको छ । अन्य तीन जनाले शव हस्तान्तरण गर्ने कार्यमा रुपेशलाई सहयोग गरिएको प्रहरीको अनुसन्धानबाट देखिएको डीएसपी विष्टले जानकारी दिए ।
त्यस्तै प्रहरीले शव लुकाउनमा संलग्न रहेको आरोपमा स्थानीयवासी ३७ वर्षीय किशोरी मण्डल, ३३ वर्षीय आदम राईन र ३२ वर्षीय नथुनी मण्डललाई सार्वजनिक गरेको हो । यस प्रकरणमा यसअघि पक्राउ परेका मृतक सुजिताको श्रीमान् मुकेश ठाकुर घटनामा संलग्न भएको नदेखिएकोले उनलाई छाडिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । मुकेशलाई सुजिताकी बुबा पिपरा गाउँपालिका ६ रतौलीका कामेश्वर पाण्डेलाई जिम्मा लगाइएको छ ।
यसरी भएको थियो सुजिताको हत्या

सुजिताको हत्यापछि शवलाई दिनभरि सुजिताकै सुत्ने पलङमा छोपेर कोठा बाहिरबाट ताल्चा लगाइ राखिएको थियो । राति साढे आठ बजेदेखि नौ बजेको बीचमा रूपेशले आफ्नै ट्र्याक्टरमा सुजिताको शव राखेर घरदेखि झन्डै एक किलोमिटर दक्षिणमा रहेको आफ्नै खेतमा खाल्टो खनेर गाडेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । शव गाडेको भोलिपल्ट रूपेशले त्यस ठाउँमा पानी भरेर ट्र्याक्टरले सम्याइ धानको बिउ छरेका थिए । अरूले थाहा पाउने देखेपछि रूपेशले जेठ २९ गते मध्यराति फेरि गाडेको ठाउँबाट शव निकालेर घरबाट पाँच सय मिटर पर रहेको निर्माणाधीन सेफ्टी ट्याङकीमा चार फिट गहिरो खाल्टो खनेर शव पुनः गाडेका थिए ।
शव गाडेर माथिबाट ६ इन्च मोटो सिमेन्ट बालुवाले ढलान गरी माथिल्लो भागमा काठको गोलियाहरू राखिएको थियो । पहिले शव गाडेको ठाउँमा भोलिपल्ट पुनः खाल्टो वरिपरिको भागमा पानी भरी रूपेशले ट्र्याक्टरले सम्याइ धानको बिउ छरेका थिए । गएको जेठ २० गतेदेखि बेपत्ता भएकी सुजिताको शवको अवशेष असार १३ गते खेतमा खाल्टो खनेपछि फेला परेको थियो । खोजीका क्रममा असार २७ गते बिहान घरबाट पाँच सय मिटर पर निर्माणाधीन सेफ्टी ट्याङ्कीमा खाल्टो खनी गाडेर माथिबाट पलास्टर गरेको अवस्थामा उनको शव भेटिएको थियो ।
महोत्तरी प्रहरीका अनुसार सुजिताको हत्या ऊको जेठ २० गते बिहान आठ–नौ बजेको समयमा भएको हो । उनको हत्या रूपेशले गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो । रूपेशले सुजिताको कोठाभित्र घित्रोमा मुक्का प्रहार गरी कोठाको भित्तामा टाउको ठोकाइ घाँटी थिची हत्या गरेको थिए ।