भिडियाे सामग्री स्राेतः सञ्जिता धमला

धरान ८ वडा कार्यालयकी कार्यालय सहयोगी सिर्जना खवासले ८० लाख भन्दा बढी ठगी गरेको आरोप लागेको छ ।

धरान–१५ का वडाध्यक्ष नरेश इवारमको श्रीमतीबाट दुई लाख १६ हजार, मन सुब्बाको १ लाख, मिना विश्वकर्माको २५ हजार, धरानका स्वर्गीय मेयर तारा सुब्बाको सुनको औंठी, वडा नं ८ की महिला सदस्य लीला गुरुङको बुहारीको सुनको चुरा पाँच लाख र धरान भोटेपुलकी सरिता गुरुङको २० हजार र ६ आना ३ लाल सुन पनि सिर्जनाले ठगी गरेर लगेको खुलेको छ ।

सिर्जनाले आफू कानुन विज्ञ वकिल भएको र मुद्दा हेर्छु भनेर धरानका केही महिलाहरूसँग डिभोर्सको मुद्दा लगाएर मोहन कुमारी राईको ५ हजार, धरान १५ बस्ने दिव्या गुरुङको साथीमार्फत् ३ लाख ५० हजार ठगी गरेको आरोप लागेको छ । सिर्जनाले अन्य महिलाहरूसँग पनि रकम असुली गरेको खुलेको छ ।

सिर्जनालाई ४ पटकसम्म विभिन्न उजुरीको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनी विरुद्ध लिखित मौखिक गरी ८० लाख भन्दा बढीको ठगीको आरोप छ ।

सिर्जनाले आफूले सबै पैसा लिएको चलाएको पनि स्वीकार गरेकी छन् । 

‘मलाई पनि धेरैले फसाएका छन्, मैले पनि धेरैलाई जमानी बसेर पैसा निकाली दिएको छु ।’ सिर्जनाले भनिन् । उनले व्यवहार मिलाउन पैसा चलाएको बताइन् । आफ्नो पनि केही रकम उठ्ने भएकाले ५ महिनाभित्र व्यवहार मिलाउने उनले बताइन् । 

सिर्जनाले लेखपढ नगरेकी मजदुर गरेर गुजारा गरिरहेकी कमला राईको घरसमेत झुक्याएर बेचेको आरोप लागेको छ । 

कमलाले गत साउनमा घरको कर तिर्न छोरालाई पठाउँदा मात्र आफ्नो घर अर्कै व्यक्तिको नाममा गएको थाहा पाएको बताइन् । सिर्जना १४ महिना अघि कमलाको घरमा भाडामा बस्दै आएकी थिइन् । 

‘दिदी तपाइलाई नि दुः ख रहेछ म आफ्नो घर धितोमा राख्छु अनि २५ लाख निकाल्छु तपाईँले हस्ताक्षर गर्दिनु म तपाईँलाई ७ लाख दिन्छु १८ लाख म चलाउँछु भनेर मालपोतमा झुक्क्याएर हस्ताक्षर गर्न लगाएर २५ लाख निकाली ।’ पीडित कमलाले भनिन् । 

धरान–८ बस्ने ४४ वर्षीय कमलाको नाममा रहेको घर नं ५० को १४ धुर जग्गा गत फागुन १४ गते २५ लाख धितोमा सूर्य लिम्बुको नाममा नामसारी भएको मालपोत कार्यालय धरानले जनाएको छ ।

सिर्जनाले धनीपूर्जा कीर्ते गरेर आफ्नो घर धितोमा राखेको ६ महिनापछि थाहा पाएपछि लगत्तै प्रहरीलाई उजुरी गरिन् । धरान प्रहरीले सिर्जनालाई पक्राउ गर्यो । तर आफैं मिल्ने भनेपछि  छाडेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी नरेन्द्र कुँवरले जनकारी दिए ।

गत माघ महिनामा कमलाले सिर्जनालाई घरको कर तिर्न पठाएको बेला धनीपूर्जाको फोटोकपी गरी राखेर किर्ते गरेको कमलाले बताइन् ।

यस्तै, मनु मोक्तानको १ लाख, रामसिस शर्माको ४ लाख, सावित्री श्रेष्ठको ४ लाख, गिरिजा साखको ४ लाख ५० हजार पनि सिर्जनाले ठगी गरेको खुलेको छ । 

उनले कसैको पनि पैसा तिर्न सकेकी छैनन् । सिर्जनाले पैसा चलाएका व्यक्तिहरूले मंगलबार वडा कार्यालय घेराउ गरेका थिए । अहिले सिर्जनाले कमलालगायत अन्यको पैसा ४ महिनामा तिर्ने भनेर वडा कार्यालयमा कागज गरेकी छन् ।

धरान ८ की रीता तामाङलाई घर बनाई दिन्छु भन्दै होटलमा ३ वर्ष बिना तलब काम लगाएर कामबाट निकालेको पीडितले बताइन् ।

वडाध्यक्ष लिम्बूका अनुसार सिर्जना उपमहानगरपालिकाले नियुक्ति गरेको कर्मचारी हुन् । सिर्जनालाई वडाको नाम लिएर हुँदै नभएको पदमा छु भनेर ठगी गर्ने कार्यप्रति आफ्नो पनि ध्यानाकर्षण भएको बताए । उनले यस्ता कर्मचारी राख्ने–नराख्ने विषयमा उपमहानगरसँग कुरा राख्ने बताएका छन् । 


Photo source - Sanjita Dhamala!