जापानमा भइरहेको टोकियो ओलम्पिक २०२० अन्तर्गत महिला फुटबलमा शनिबार जाम्बिया र चीनबीचको खेलमा गोलको वर्षा भयो । 

दुई ह्याट्रिक भए । समूह एफअन्तर्गत मियागी स्टेडियममा भएको खेल ४–४ को बराबरीमा सकिएको थियो । उक्त खेलमा चीनका लागि शुअङ वाङले चार गोल गरिन् ।

जाम्बियाका लागि कप्तान बारब्रा बान्डाले ह्याट्रिक गरिन् भने राचेल कुन्डालान्जीले एक गोल गरिन् । चीनकी क्वुन्टोन लिले ८६औं मिनेटमा रातो कार्ड पाएकी थिइन् ।

जाम्बियाकी बान्डाले टोकियो ओलम्पिकमा लगातार दुई खेलमा ह्याट्रिक गरिसकेकी छन् । उनी ओलम्पिकको महिला फुटबलमा लगातार दुई खेलमा ह्याट्रिक गर्ने पहिलो खेलाडी समेत बनिन् ।

यसअघि नेदरल्याण्ड्रसँग १०–३ ले पराजित हुँदा पनि बान्डाले ह्याट्रिक गरेकी थिइन् ।

दुई खेलमै ६ गोल गरिसकेकी उनी सर्वाधिक गोलकर्ताले पाउने गोल्डेन बुटको दाबेदारमा समेत अघि छन ।

यस्तै उनले एकै संस्करणमा सर्वाधिक ६ गोल गर्ने क्यानडाकी क्रिस्टिन सिनक्लेरको कीर्तिमानसमेत बराबरी गरेकी छिन् । समूह चरणमा जाम्बियाले अझै ब्राजिलसँग खेल्न बाँकी रहेकोले उनले गोल थप्न सक्नेछिन् ।

समूह एफमा एक हार र एक बराबरीपछि जाम्बयाले १ अंक जोडेको छ । पहिलो खेलमा ब्राजिलसँग पराजित भएको चीनले पनि १ अंक जोडेको छ ।