मोरङको सुन्दरहरैंचा नगरपालिका–१० त्रिवेणी चौकस्थित ‘शिव पञ्चायन ज्वेलर्स’ दिनदहाडै लुटपाटको प्रयास गर्ने नेपाली सेनाका पूर्व जवानसहित ६ जनाको समूहलाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ ।
प्रहरीले नेपाली सेनाको पूर्व जवान संखुवासभा सभापोखरी गाउँपालिका–४ घर भई इटहरी २० तरहरामा डेरा गरी बस्ने ३९ वर्षीय प्रकाश भनिने चन्द्रबहादुर राई र पूर्व लडाकु सुनसरी गढी गाउँपालिका १ का ४५ वर्षीय डाइमण्ड भन्ने प्रमोद चौधरीसहित ६ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले घटनामा संलग्न संखुवासभा बारबीसे गाउँपालिका ६ घर भई हाल इटहरी २० तरहरा बस्ने ३० वर्षीय चिरञ्जीवि राई, मोरङ सुन्दर हरैंचा ५ का २२ वर्षीय मिसन राई, भोजपुर पौवादुम्मा गाउँपालिका ३ घर भई हाल इटहरी २० बस्ने ३० वर्षीय नगेन्द्र राई र सुन्दहरैंचा नगरपालिका ७ का ३१ वर्षीय सन्तोष राईलाई पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए ।
प्रहरीले उनीहरूको साथदेखि सुनचाँदी पसल लुटपाटका लागि ल्याएको अत्याधुनिक एवम् स्वचालित हतियार एसएमजी (मेसिनगन), एउटा कटुवा पेस्तोल र अटोमेटिकल पेस्तोल बरामद गरेको छ । यस्तै प्रहरीले म्यागजिनमा लाग्ने ६२ राउण्ड गोली र ३०३ राइफलको ४ राउण्ड गोली पनि बरामद गरेको छ ।

मास्क लगाएर आएको हतियारधारी समूहले खगेन्द्र थापाले घरमै सञ्चालन गरेको ज्वेलर्समा गत साउन १ गते दिउँसो लुटपाटको प्रयास गरेका थिए । पक्राउ परेको समूह त्यही घटनामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी जिसीले बताए ।
लुटपाटको प्रयास सफल हुन नसकेपछि स्थानीय बासिन्दालाई हतियार देखाएर आतंकित बनाउँदै उक्त समूह उत्तर–पश्चिमतर्फ लागेको थियो । पक्राउ परेका नेपाली सेनाका पूर्व जवान राईले १५ वर्ष सेनामा जागिर खाएपछि २०७६ सालमा राजीनामा दिएको खुलेको छ ।
पूर्व लडाकु चौधरी सातौं ब्रिगेड सहायक लजिस्टिक भएर काम गरेको प्रहरीले जनाएको छ ।
‘सुनपसल लुटपाटको योजना बनाउने मुख्य गिरोह चन्द्रबहादुर रहेको प्ररम्भिक चरणको अनुसन्धानदेखि खुलेको छ,’ एसपी जिसीले भने, ‘मुख्य गिरोहलाई सुनसरीको तरहरादेखि पक्राउ गरी ल्याएको हो ।’ चौधरी र राईलाई सुनसरी र अन्य तीन जनालाई मोरङदेखि पक्राउ गरेको हो । पक्राउ परेका ६ जनालाई मोरङ प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
लुटपाटको प्रयास अफसल भएपछि हतियार जंगलमा
शिव पञ्चायन ज्वेलर्स लुटपाटको प्रयास गर्ने गिरोहले घटना भएको एक दिन अगाडि पनि लुटपाटन गर्ने योजना बनाएको खुलेको छ ।
३१ असारमा ४ बजे तीन वटा मोटसाइकलमा उक्त सुनचाँदी पसलमा ६ जना आएका थिए । ‘सुनचाँदीको पसल भएको स्थानमा ६ जनाको समूह लुटपाट गर्न कतिको सहज हुन्छ भन्दै घटनास्थलमा आएको प्रराम्भिक चरणको अनुसन्धानदेखि खुलेको छ,’ मोरङ प्रहरीका प्रमुख एसपी जिसीले भने, ‘३१ असारमा आएको दिन उनीहरूको योजना अफल भएपछि पूर्व –पश्चिम राजमार्ग हुँदै इटहरीतर्फ हानिएका थिए । पहिलो दिनको प्रयास असफल भएपछि भोलिपल्ट पुन १ः१४ बजेको समयमा लुटपाट गर्न सुनचाँदी पसल आएका थिए । तर, सफल भएनन् ।’
पक्राउ परेका गिरोहले अत्याधुनिक हातहतियार र गोलीहरू सुन्दरहरैंचास्थित नमुना सामुदायिक वनभित्रको जंगलको ठूलो रूखको टोड्कोमा लुकाउने गरेको एसपी जिसीले जानकारी दिए ।
‘लुटपाटको योजना अफसल भएपछि हातहतियारहरू जंगलभित्रको रुखको टोड्कोमा राख्ने गरेको पाइयोे,’ एसपी जिसीले भने ।
घटना भएको १२ दिनपछि पक्राउ
सुन पसल लुटपाटको प्रयास गरेको १२ औँ दिनपछि उक्त गिरोहलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।
त्यतिबेला गरिएको लुटपाट प्रयास घटनाको दृश्य सिसी क्यामेरा फुटेजमा कैद भएको थियो ।
सिसी क्यामेरा फुटेजसहित घटनाको अनुसन्धान थालेको प्रहरी अन्नतः हतियारधारी गिरोहसम्म पुग्न सफल भएको हो । उक्त गिरोहको समूहलाई पक्राउ गर्न मोरङ प्रहरी र प्रदेश प्रहरी कार्यालयदेखि विशेष प्रहरी टोली परिचालन भएको थियो ।
पक्राउ परेकाको साथबाट बरामद भएको एसएमजी सुरक्षाकर्मीको विशेष टोलीसँग मात्रै हुन्छ । त्यो समूहले अत्याधुनिक हतियार कहाँबाट ल्याएको हो भन्ने बारेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
होहल्ला गरेपछि हवाइ फायर
घटना भएका बेला सुन पसलका सञ्चालक खगेन्द्र थापा, उनकी श्रीमती टीकादेवी र ६ वर्षका नाति पसलभित्र थिए । टीकादेवी बाहिर निस्किएर होहल्ला गर्न थालेपछि स्थानीयको जमघट बढेसँगै पसलभित्रबाट निस्किएर लुटेरा समूह फरार भएका थिए ।
त्यसबेला अत्याधुनिक हतियार नेपाली सेनाका पूर्व जवान चन्द्रबहादुर राईले एसएमजी बोकेर र प्रमोद चौधरी कटुवा पेस्तोल र अटोमेटिकल पेस्तोल बोकेर सुन पसलभित्र प्रवेश गरेको खुलेको छ,’ एसपी जिसीले भने, ‘अन्य ३ जना सुनपसल वरिपरि निगरानीमा बसेको अनुसन्धानदेखि खुलेको छ ।’
लुटपाट गर्ने योजना अफसल भएपछि चौधरीले सुन पसल बाहिर आएपछि अटोमेटिकल पेस्तोलदेखि हवाइ फायर पनि गरेको थिए । तर, गोली ओसिएर नपड्किएको प्रहरीले जनाएको छ ।
यस घटनामा थप एक जना फरार रहेको छन् । प्रहरीले फरार भएकाको पनि खोजी कार्य तीव्र बनाएको छ । प्रहरीले लुटपाटको प्रयासको घटनामा प्रयोग गरिएको को २ ह २७३६ नम्बरको अटो रिक्सा र चार वटा मोटसाइकल पनि बरामद गरेको छ ।
पक्राउ परेका अभियुक्तहरूलाई मोरङ प्रहरीले बुधबार मोरङ अदालतमा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ । प्रहरीले अनुसन्धान पूरा गरेपछि सरकारी वकिलका कार्यालय मार्फत् हातहतियार खरखजना, ज्यान मार्ने उद्योग र लुटपाटको प्रयास मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।