विराटनगर । विराटनगर महानगरपालिकाको प्रमुख पदका लागि नेपाली काङ्ग्रेस विराटनगर महानगरपालिकाले सात जनाको नाम सिफारिस गरेको छ । पार्टीका नगर सभापति दीपक चापागाईंका अनुसार उपप्रमुखमा १२ जनाको नाम सिफारिस गरेको जानकारी दिए ।

काङ्ग्रेस महानगर समितिले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आकाङ्क्षीहरूको सूची केन्द्रीय पार्टी कार्यालयमा सिफारिस गरेको हो । वर्तमान प्रमुख तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य समेत रहेका भीम पराजुलीसहित सात जनाको नाम सिफारिस गरिएको छ ।

प्रमुखका लागि सिफारिस सूचीको पहिलो नम्बरमा नागेश कोइरालाको नाम छ । दोस्रो नम्बरमा सभापति चापागाईं, तेस्रो नम्बरमा उपमेयर इन्दिरा कार्की, चौथो नम्बरमा डा. डीला सङ्ग्रौला, पाँचौँ नम्बरमा अमृत अर्याल, छैठौँ नम्बरमा मेयर भीम पराजुली र सातौँ नम्बरमा गोपाल रेग्मीको नाम छ । सिफारिस गरिएकामध्ये कोइराला, चापागाईं र कार्की डा. शेखर कोइराला पक्षधर हुन् । सङ्ग्रौला, अर्याल, पराजुली र रेग्मी संस्थापन पक्षनिकट हुन् ।

उपप्रमुखका लागि झुमा गौतम, निरज कोइराला, प्रमिला गच्छदार, प्रमिला थापा, पुनम सिंह, जस्मिन मण्डल, पङ्कज बर्मा, दुर्गा कोइराला, सीता घिमिरे, सूची चौधरी, गीता सिलवाल र राजु मास्केको नाम सिफारिस भएको सभापति चापागाईंले जानकारी दिए ।‘सम्भावित उम्मेदवारको नामावली हामीले पार्टीको केन्द्रीय कार्यालयका सचिव प्रेम केसीलाई बुझाएका छौँ’ –चापागाईंले भने ।

०७४ को स्थानीय निर्वाचनमा पराजुली २३ हजार ३१ मत ल्याउँदै विराटनगर महानगरपालिकाको प्रमुखमा विजयी भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का विनोद ढकालले १७ हजार ३ सय २१ मत पाएका थिए । सङ्घीय समाजवादीका नेता उमेशकुमार यादवले १४ हजार ९ सय ५८ मत प्राप्त गरेका थिए ।