यासोक । पाँचथरको कुम्मायक गाउँपालिकामा आइतबार सम्पन्न कुम्मायक–कुस्सायक गोल्डकपको उपाधि आयोजक सयपत्री क्लबले जितेको छ ।

कुम्यायकको पृथ्वी माविको खेलमैदानमा आइतबार सम्पन्न फाइनलमा आयोजकले सुनसरीको सङ्गम क्लबलाई ३–२ गोलअन्तरले हराउँदै उपाधि जितेको हो । उपाधिसँगै नगद ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँसहित ट्रफी जितेको छ । उपविजेतामा चित्त बुझाएको सङ्गम क्लबले नगद १ लाख ६६ हजार ६ सय ६६ रुपैयाँसहित ट्रफी पाएको छ ।

खेलको अग्रता भने सुनसरीले लिएको थियो । सुरुवाती समयमै विमल घिसिङको पेनाल्टी प्रहारले सिधै जाली चुमेको थियो । तर, सुनसरीको अग्रतालाई आयोजकका विशाल राईले बराबरी गर्दै निराश तुल्याए । पुनः आयोजकका आशिष चापागाईं र विवेक पौड्यालले गोल गरे ।

यता सुनसरीका सुरेन बुढामगरले गोल गरे पनि जितका लागि पर्याप्त बनेन । खेलको म्यान अफ दी म्याच सुनसरीका विजय घलान घोषित हुँदै नगद पाँच हजार रुपैयाँ जिते । खेलमा सर्वोकृष्ट खेलाडी सुनसरीका मनोज प्रधान घोषित हुँदै नगद १५ हजारसहित ट्रफी पाए ।

अन्य व्यक्तिगत ट्रफीमा उकृष्ट गोलकिपर आयोजकका किशोर गिरी, मिडफिल्डर खामिर गिल्सन कन्दङ्वा, फरवार्ड विशाल राई, राइजिङ प्लेयर चोलुङ चेम्जोङ, सर्वाधिक गोलकर्ता आशिष चापागाईं र उकृष्ट प्रशिक्षक शिवकुमार लावती घोषित हुँदै नगदसहित ट्रफी पाए ।

कार्यक्रममा माओवादी केन्द्रका प्रदेश कमिटी अध्यक्ष हर्कबहादुर नेम्वाङलगायतले पुरस्कार वितरण गरे ।