विराटनगर । विराटनगर महानगरपालिका १० को वडाअध्यक्षमा उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार माधवराज वाग्लेले काँग्रेस र एमालेको भोट काटेर चुनाव जित्ने दावी गरेका छन् ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट वडाध्यक्ष जितेका वाग्लेले पुनः सोही पदमा आइतबार दिउँसो उम्मेदवारी दर्ता गराएपछि यस्तो प्रतिक्रिया दिएका हुन् । ‘वडाभित्र अझैपनि कतिपय कामहरू गर्न बाँकी छन् । बाँकी रहेको काम पूरा गर्न फेरी वडाअध्यक्षमा उम्मेदवारी दिएको छु,’ उम्मेदवारी दर्ता गरेपछि उनले भने, ‘अधुरो कामहरू पुरा गर्न र वडाबासीहरूको चाहना अनुसार उम्मेदवारी दिएको हु ।’

शुक्रबार वडाअध्यक्ष पदबाट राजीनामा दिएका उनले यो पटक पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

२०७४ सालको निर्वाचन अघि नेकपा एमालेमा आबद्ध रहेका वाग्लेले पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेर ८ सय ८५ मत ल्याएर अध्यक्ष जितेका थिए ।