बिर्तामोड । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू पनि देशको लागि इञ्जिनियर नै रहेको बताएका छन् ।

एमाले निकट प्रोग्रेसिभ इञ्जिनियर्स एसोसिएसन प्रदेश–१ को दोस्रो अधिवेशनको शनिबार झापामा उद्घाटन गर्दै अध्यक्ष ओलीले भने, ‘मेरो विषय इञ्जिनियरिङ होइन, तर मैले देशको इञ्जिनियरिङ नगरी भएको छैन, त्यसैले म पनि एउटा इञ्जिनियर जस्तै जस्तै हो ।’

देश निर्माण आफ्नो मुख्य उद्देश्य भएको भन्दै अध्यक्ष ओलीले आफूले देश बनाउने अभियानमा नेतृत्व गरिरहेको बताए । उनले देश निर्माणमा सम्पूर्ण जनता एकताबद्ध हुनुपर्ने धारणा राखे । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सपना पूरा गर्न एकताबद्ध हुन ओलीले आह्वान गरे । 

एमाले सरकारमा आएपछि विकासका कैयौं कामहरू भएको उनले दाबी गरे । एमालेले सरकारमा हुँदा गरेको विकासका काम देखेर विरोधीहरू अताल्लिएको उनको भनाइ थियो । मङ्सिर ४ गते नयाँ नेपालको इञ्जिनियरिङ गर्नुपर्ने अध्यक्ष ओलीले बताए । लोकतन्त्र र राष्ट्रिय हितका लागि, स्थिरता तथा स्थायित्व कायम गर्न र समृद्ध नेपाल सुखी नेपाली बनाउनका लागि मङ्सिर ४ को चुनाव एमालेले जित्नैपर्ने उनको भनाइ थियो ।

अध्यक्ष ओलीले गठबन्धन सरकारले मसलको भाषा बोलेको आरोप लगाए । उनले भने, ‘गठबन्धनले राजनीतिक भाषा बोल्न छाड्यो, मसलको भाषा बोल्छ, यसो केही कुरा सोध्यो भने पहिले मसल देखाउँछ, यस्तो पनि राजनीतिक दल हुन्छ ? तर, गठबन्धन त्यस्तै छ ।’ नागरिकता विधेयक पुनः प्रमाणीकरणका लागि गठबन्धनले राजनीतिकभन्दा मसलको भाषा प्रयोग गरेको आरोप ओलीको थियो ।

शनिबार नै बिर्तामोडमा आयोजित अर्काे एक कार्यक्रममा अध्यक्ष ओलीले झापा जिल्ला नेकपा (एमाले)का लागि मक्का मदिनाजस्तै भएको बताए । अखिल नेपाल महिला सङ्घ झापाको नवौँ जिल्ला अधिवेशनको शनिबार उद्घाटन गर्दै ओलीले झापा जिल्लाले देश निर्माणको लागि भूमिका खेल्नसक्ने बताए । सहिद भूमि र चेतनाका कारणले यहाँका नागरिकले एमालेमाथि भरोसा राखेको बताए ।

झापा विद्रोहको भूमि भएकोले त्यो सन्देश झापाली महिलाले आउने निर्वाचनमा दिनुपर्ने ओलीले बताए । नारी शक्ति उठेर सबै खाले गठबन्धनलाई परास्त गर्नुपर्नेमा उनले जोड दिए । ‘महिला दिदी बहिनीहरू विचारमा स्पष्ट हुनुहुन्छ, नेकपा (एमाले) मात्र स्पष्ट दृष्टिकोण बोकेको पार्टी हो’–उनले भने ।

निरङ्कुश राजतन्त्र फाल्ने एमालेलाई गठबन्धनले केही पनि गर्न नसक्ने दाबी ओलीको थियोे । अरिङ्गाल र बच्छ्युँ खाने एमालेलाई झुसे बारुलाले जस्तोसुकै गठबन्धन गरे पनि केही फरक नपार्ने धारणा ओलीको थियो । अब पनि एमाले ठीक हो कि होइन भन्ने दुविधा पाल्न नहुने उनले बताए ।

एमाले जोगाएर अहिलेको अवस्थासम्म पुर्याएको भन्दै उनले महिला र युवालाई धन्यवाद दिए । महिलाहरू दृढताका साथ पार्टीको पक्षमा उभिएका र अब पनि महिलाहरू पार्टीको निर्णय र गन्तव्यको पक्षमा उभिनु पर्ने भनाइ ओलीले राखे ।

यो पार्टीलाई जोगाएर यहाँसम्म ल्याउने, पार्टी बचाउने खासगरी भन्ने हो भने महिला दिदीबहिनीहरू नै हुन्, महिला दिदीबहिनीहरूले बचाउनुभयो, युवाहरूले बचाउनुभएको हो, मैले जिल्ला जिल्लामा हेरेँ, केन्द्रदेखि तलसम्म हेरेँ, पुरुषहरू धेरै लर्बराए, तर महिलाहरू बहुत कम मात्रै लर्बराए, लर्बराउँदै लर्बराएनन् त म भन्दिनँ, तर कम मात्र लर्बराए, महिलाहरू दृढताका साथ पार्टीको पक्षमा उभिए’, –ओलीले भने । झापा जिल्लाले देशभरिलाई एउटा सन्देश दिने गरी भूमिका खेल्नुपर्नेमा ओलीले जोड दिए ।