सुनसरी । आम निर्वाचनको मिति घोषणा भएसँगै सुनसरीमा चुनावी सरगर्मी बढेको छ ।

आउँदो मङ्सिर ४ गते हुने प्रदेश र सङ्घको निर्वाचनको मिति घोषणा भएपछि विभिन्न दलका सम्भावित उम्मेदवारहरूले टिकटका लागि दौडधुप सुरु गरेका छन् ।

सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद् एवम् सूचना सञ्चार तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समेत सक्रियता बढाएका छन् । २०७४ सालमा गृह जिल्ला भोजपुर छाडेर सुनसरी क्षेत्र नम्बर ४ बाट चुनाव जितेका उनले आफूले चुनाव जितेमा प्रत्येक महिना जनताको समस्या बुझ्न घर–घर जाने वाचा गरेका थिए । यद्यपि उनले आफ्नो वाचा पूरा गर्न नसके पनि चुनावको मिति घोषणा भएपछि भने निर्वाचन क्षेत्रका जनतासँग भेटघाट गर्न थालेका छन् ।

सोही क्रममा मन्त्री कार्कीले सुनसरी क्षेत्र नम्बर ४ अन्तर्गत रहेको कोसी र भोक्राहा नरसिंह गाउँपालिका तथा वराहक्षेत्र नगरपालिका क्षेत्रमा आफ्नो पहल र प्रयासमा भएको विकास निर्माणकार्यको प्रगतिको बारेमा शनिबार निरीक्षण गरेका छन् ।

सुनसरी क्षेत्र नम्बर ४ मा भइरहेकोे विकास निर्माण कार्यबारे बुझ्न, आगामी निर्वाचनका सन्दर्भमा नेता कार्यकर्तासँग भेटघाट गर्न मन्त्री कार्की निर्वाचन क्षेत्र आइपुगेको नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति तथा कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले जानकारी दिए । सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित भएर मन्त्री बनेपछि कार्की व्यस्तताका बावजुद आफ्नो निर्वाचन क्षेत्रमा आएर जनताको समस्या बुझ्दै आएको उनको दाबी छ ।

निर्वाचनको मिति घोषणा भएपछि सुनसरीमा काङ्ग्रेस, एमाले, नेकपा माओवादीलगायतका दलहरूले राजनीतिक गतिविधि बढाएका छन् । राजनीतिक भेटघाट, प्रशिक्षण, भेला र सभा गर्दै दलहरूले निर्वाचन केन्द्रित कार्यक्रम गाउँ–गाउँमा सुरु गरेका हुन् । ‘हामीले वर्तमान जनप्रतिनिधिले गरेका कामको समीक्षा, वाचा गरेका काम पूरा हुन नसकेको कारण खोजी गर्नेदेखि मतदाताको घर–घरमा पुगेर आफ्ना एजेन्डाबारे बुझाउने तयारी गरिरहेका छौँ’ क्षेत्रीय सभापति अन्सारीले भने, ‘टिकट वितरणको मापदण्ड तयार गरेर आगामी चुनाव आफ्नो पक्षमा पार्ने अभियान सुरु गर्छौं ।’

आगामी निर्वाचनलाई लक्षित गर्दै मन्त्री कार्कीले वराहक्षेत्र नगरपालिकामा सम्पर्क कार्यालयसमेत स्थापना गरेका छन् । ‘यसअघिको चुनावमा गरेका अधिकांश वाचा पूरा गरेका छौं’ मन्त्री कार्कीले भने, ‘त्यसैले सुनसरीमा यसपटक पुनः काङ्ग्रेस हावी हुनेमा हामी विश्वस्त छौं ।’

मन्त्री कार्कीसँगै सुनसरी क्षेत्र नम्बर २ बाट निर्वाचित सीताराम मेहताले पनि आफ्नो निर्वाचन क्षेत्रमा सक्रियता बढाएका छन् । यस्तै अघिल्लो निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ४ (क) बाट चुनाव जितेर शेरधन राई नेतृत्वको मन्त्रिमण्डलमा प्रदेश नम्बर १ को  उद्योग, वन पर्यटन तथा वातावरण बनेका जगदीशप्रसाद कुशियैत यसपटक भने ज्ञानेन्द्रबहादुर कार्कीलाई चुनौती दिने तयारी गरिरहेका छन् । सोहीअनुसार उनले पनि आफ्नो राजनीतिक सक्रियता बढाएका छन् ।

२०७४ सालमा मतदाताले विश्वास गरेर प्रदेश सांसद्मा निर्वाचित गराउँदा आफू मन्त्री बनेपछि जनअपेक्षाअनुसार काम गरेको नेता कुशियैतको दाबी छ । ‘हामीले गरेकामध्ये कतिपय वाचा पूरा गरिसकेका छौं’ उनले भने, ‘सरकारबाट बाहिरिनुपर्दा केही काम अधुरा छन् । तिनै अधुरा काम पूरा गर्ने प्रतिबद्धता लिएर जनतासमक्ष जान्छौं ।’ यस्तै नेकपा माओवादी र मधेसवादी दलहरू पनि चुनावको तयारीमा जुटेका छन् ।