इनरुवा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर ४ को चुनावमा धाँधली हुनसक्ने आशङ्का व्यक्त गरेका छन् । 

विगतको चुनाव परिणामप्रति लक्षित गर्दै ओलीले वर्तमान गठबन्धन सरकारले यस पटकसमेत प्रहरी प्रशासनको दुरुपयोग गरी चुनावमा धाँधली गर्न सक्ने बताए । सुनसरीको दुहबीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधनका क्रममा ओलीले सो आशङ्का जनाएका हुन् । 

सुनसरी क्षेत्र नम्बर ३ बाट यसअघि २ पटक हार बेहोरेकी एमाले नेतृ भगवती चौधरीको प्रसङ्ग कोट्याउँदै ओलीले तत्कालीन अवस्थामा चौधरीलाई प्रहरी र प्रशासनको आडमा हराइएको दाबी गरे ।

ओलीले वर्तमान गठबन्धन पुनः सो दाउमा जुट्न सक्ने देखिएकाले पार्टीका नेता तथा कार्यकर्तालाई सतर्क रहन आग्रहसमेत गरे । उनले भने, ‘राज्यशक्तिको दुरुपयोग हुनसक्छ । बाकस साटिन सक्छ । त्यसकारण एमालेका नेता तथा कार्यकर्ता परिस्थिति अनुकूल प्रतिवादमा उत्रन तयार रहनु पर्छ ।’

ओलीले प्रहरी प्रशासनलाई समेत राष्ट्रसेवकको भूमिका निर्वाह गर्न आग्रह गरे । उनले विगतका निर्वाचनमा प्रहरी प्रशासनको दुरुपयोग भएको पाइएकाले जनमतको कदरका लागि यसपटक त्यस्तो घटनाक्रम नदोहोरियोस् भन्ने चाहेको बताए ।

एमाले अध्यक्ष ओलीले मुलुकको विकास र समृद्धिका लागि एमालेको जित आवश्यक रहेको समेत बताए । ओलीले मङ्सिर ४ गतेको निर्वाचनपछि एमालेले बहुमतको सरकार बनाउने दाबीसमेत गरे । सरकार बनेपश्चात् एमालेले अघि सारेका राष्ट्रहितका कदम अघि बढ्ने उनले बताए ।

सम्बोधनका क्रममा ओलीले एक वर्षमा गठबन्धन सरकारले मुलुकलाई बेहाल अवस्थामा पु¥याएको बताए । त्यही कारणसमेत मुलुकको समग्र विकास र राष्ट्रहितका लागि एमाले बाहेकको विकल्प नरहेको दोहोर्याए ।

एमाले नेताहरू भीम आचार्य, जगदीश कुसियत, रेवतीरमण भण्डारी, भगवती चौधरीलगायतको उपस्थिति रहेको कार्यक्रममा नेपाली काङ्ग्रेस र गठबन्धन दल आबद्ध पार्टी त्यागी सयौं नेता तथा कार्यकर्ता एमाले प्रवेश गरेका थिए । उनीहरूलाई ओलीसहितका एमाले नेताहरूले पार्टीमा स्वागत गरेका थिए ।