धरान । पूर्व नम्बर एक गल्फर भूवन नगरकोटीले सूर्य नेपाल काठमाडौं ओपन जितेका छन् ।

सूर्य नेपाल गल्फ टुर २०२२÷२३ सिजनको शुक्रबार सम्पन्न पहिलो प्रतियोगितामा दिनेश प्रजापतिलाई ९ स्ट्रोकको अन्तरमा हराउँदै नगरकोटीले जित हात पारेका हुन् । ४ अन्डर ६४ को स्कोरसहित कुल १४ अन्डर २ सय ५८ गर्दै उपाधि जितेका भूवनले १ लाख १६ हजार रुपैयाँ प्राप्त गरे । भुवनको यो खेल करियरको दसौं उपाधि हो । 

६ अन्डर ६२ को कार्ड बनाउन सफल दिनेश प्रजापति ५ अन्डर २ सय ६७ सहित दोस्रो भए । उनले ७८ हजार प्राप्त गरे । इभन पार ६८ स्कोर जोडेका शुक्रबहादुर राईले समग्रमा १ अन्डर २ सय ७१ स्कोरसहित तेस्रो स्थानमा चित्त बुझाए । उनले ६३ हजार प्राप्त गरे । पहिलो दुई दिन अग्रता बनाएका रवि खड्काले ४ ओभर ७२ स्कोरमा खेल टुङ्ग्याएर कुल ३ ओभर २ सय ७५ स्कोसहित चौथो स्थान सहित ५० हजार प्राप्त गरे ।

समग्रमा ५ ओभर २ सय ७७ सहित रमेश अधिकारी पाँचौं, ६ ओभर २ सय ७८ मा कृष्णमान राजबाहक छैठौं र ७ ओभर २ सय ७९ को स्कोरमा सूर्यप्रसाद शर्मा सातौं भए । अन्तिम दिन रमेशले १ ओभर ६९, कृष्णमानले ५ ओभर ७३ र सूर्यले ३ ओभर ७१ स्कोर बनाए । अन्तिम १८ होलको सुरुवात गर्दा भूवनसँग ९ स्ट्रोकको अग्रता थियो । विना दबाव सहजै अन्तिम दिनको खेल ४ अन्डर ६४ मा सकाउने क्रममा फ्रन्टनाइन १ अन्डर ३३ मा पूरा गरे । दोस्रो होलमा बोगी प्रहार गरे पनि तेस्रो र पाँचौं होलमा एक–एक सट बचाए । यसपछि ११, १३ र १४ औं होलमा बर्डी प्रहार गर्दै ब्याकनाइन ३ अन्डर ३३ मा पूरा गरे ।

भूवनले सहजै उपाधि जित्दा दोस्रो स्थानका लागि शुक्र र दिनेशको प्रतिस्पर्धा चलेको थियो । अन्तिम दिनको खेल सुरु गर्दा शुक्र २ स्ट्रोकले अगाडि थिए । तर, शुक्रलाई ४ स्ट्रोकले माथ दिँदै दिनेश दोस्रो भए । दिनेशले ६ अन्डरको शानदार नतिजा निकाल्ने क्रममा फ्रन्टनाइन २ अन्डर ३२ मा सकाए । दोस्रो, तेस्रो र छैठौं होलमा बर्डी प्रहार गर्दा नवौं होलमा एक शट गुमाए । यसपछि १०, ११, १३ र १४औं होलमा बर्डीको सफलता प्राप्त गर्दै ब्याकनाइन ४ अन्डर ३० मा पूरा गरे ।

प्रोफेसनल गल्फ टुर अफ इन्डिया (पिजिटिआई) खेलिरहेका शुक्रले अपेक्षाअनुरूप खेल्न सकेनन् । अन्तिम दिन इभन–पार ६८ खेले । उनले आठौं होलको बर्डीले फ्रन्टनाइन १–अन्डर ३३ मा सके । यसपछि ११, १३ र १६ औं होलमा एक–एक सट बचाए । तर, १५ र १७ औं होलमा बोगी र १८ औं होलको डबल बोगीले ब्याकनाइन १ ओभर ३५ मा पूरा गरे ।

त्यस्तै एमेच्योरतर्फको उपाधि अजित विकेले जिते । उनले ६ ओभर ७४ सहित कुल १७ ओभर २ सय ८९ स्कोर जोडे । समग्रमा ३ सय ११ स्कोरसहित सुरेश तामाङ दोस्रो भए । नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपीजीए) को आयोजना र सूर्य नेपाल प्रालिको प्रायोजनमा जारी सिजनको पहिलो प्रतियोगितामा ३१ प्रोफेसनल र ५ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।