सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारीमा सम्पन्न १ नं. प्रदेशस्तरीय तेस्रो रेजिना कप पुरुष भलिबलको उपाधि ओखलढुङ्गाले हात पारेको छ ।

अन्तरजिल्लास्तरीय भलिबल प्रतियोगिताको फाइनलमा भोजपुरलाई हराउँदै विजेता बनेको हो । शनिबार भएको फाइनल खेलमा खोटाङलाई सोझो सेटमा हराउँदै झापा तेस्रो भएको छ ।

फाइनल खेलमा भोजपुरलाई ३–१ सेटको अन्तरले हराई ओखलढुङ्गाले जित हात पारेको हो । पहिलो सेट जितेको ओखलढुङ्गालाई दोस्रो सेटमा भोजपुरले हराएको थियो तर, त्यसपछि लगातार दुई सेट ओखलढुङ्गाले जितेको थियो । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी ओखलढुङ्गाका समिप श्रेष्ठ घोषित भए । बेस्ट स्पाइकर ओखलढुङ्गाका हरि अधिकारी, लिफ्टर मनोज घिमिरे, ब्लकर द्वारिका थापा, लिब्रो भोजपुरका सन्तोष राई र सर्भर बालकुमार रायमाझी घोषित भए ।

विजेता टिमले १ लाख ११ हजार १ सय ११ रुपैयाँ, २ सय १० तोला चाँदीको शिल्ड र ३–३ तोला चाँदीको मेडल प्राप्त गरे । त्यस्तै उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफ र २–२ तोला चाँदीको मेडल प्राप्त गरेका थिए । यही माघ १८ गतेदेखि सुरु भएको खेलमा प्रदेश १ का १२ जिल्ला र एक आयोजक टिमसहित १३ टिम सहभागी थिए ।

सहभागीलाई खान र बस्नको व्यवस्था गरिएको थियो । २०७१ सालदेखि प्रत्येक २–२ वर्षमा प्रतियोगिता हुँदै आएको छ । सूर्य सेकेन्डरी बोर्डिङ स्कुलले आयोजना गरेको भलिबल यो प्रतियोगितालाई पूर्वी नेपालकै ठूलो प्रतियोगिताको रूपमा लिइन्छ ।