पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाको १५ शैयाको अस्पताल निर्माणको काममा ढिलासुस्ती भएको छ । अस्पताल निर्माणको ठेक्का पाएको ठेकेदार कम्पनीले दक्ष जनसक्ति परिचालन गर्न नसक्दा ढिलासुस्ती भएको हो । भवन निर्माणको काम २०७८ सालमा नागरजुङ भगवती जेभी काठमाडौंले ठेक्का लिएको थियो । भ्याट सहितको १४ करोड २१ लाख ५ हजार २०७ रुपैयाँमा ठेक्का लिएको ठेकेदार कम्पनीले योजनाको काम सुस्त बनाएको हो । 

दुई वर्ष भित्र योजना सम्पन्न गर्ने ठेक्का लिएको ठेकेदार कम्पनीलको २०८० असार मसान्तसम्ममा सम्झौता अवधि पुरा हुदैछ । बाँकी रहेको पाँच महिना भित्र भवनको काम सम्पन्न गर्न मुस्किल छ । योजना सुरु भएको १९ महिनामा २० प्रतिशत भौतिक प्रगति र १५ प्रतिशत वित्तिय प्रगति मात्र गरेको कुम्मायक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवी तुम्वापोले बताए । “हामीले भवन निर्माणमा भएको ढिलासुस्ती प्रति निर्माण कम्पनीलाई पटक–पटक टेलिफोन र पत्रचार गरी निर्देशन दिएका छौ । तर हालसम्म अपेक्षित उपलब्धि देखिएको छैन । केही कामदार निर्माण स्थलमा खटाएर काम गर्दै आएको छ । गाउँपालिकाले जनसक्ति बढाएर काम गर्न भन्दै निर्देशन छौ् तुम्वापोले भने ।

ठेकेदार कम्पनीले हालसम्म भवन निर्माणमा कामदार परिचालन गर्न सकेको छैन । १० देखि १५ कामदार खटाएर काम गर्दै आएको छ । यता ठेकेदार कम्पनीले कामदार निर्माण स्थलमा खटिएको दावी गरेको छ । भवन निर्माणमा आवश्यक पर्ने २० देखि ३० जना जनसक्ति परिचालन गरेको बताएको छ । गाउँपालिकाले भवन निर्माणको काममा ढिलासुस्ती भएको भन्दै ठेकेदार कम्पनीलाई तत्काल निर्माण स्थलमा थप जनसक्ति खटाएर काम गर्न निर्देशन दिएको गाउँपालिका अध्यक्ष वंम प्रसाद लावतीले बताए । गाउँपालिकाले दिएको निर्देशनलाई अटेर गरे कानुन बमोजिम अघि बढ्ने लावतीको भनाइ छ ।

जिल्लाको याङवरक, मिक्लाजुङ र कुम्मायक गाउँपलिकामा १५ शैयाको अस्पताल निर्माण हुदै आएको छ । मिक्लाजुङ र याङवरक गाउँपालिकामा भवन निर्माणको कामले गति लिएको छ । मिक्लाजुङ गाउँपालिकामा अस्पताल निर्माणको काम सियम कृष्ण लक्ष्मी जेभीले २०७९ बैसाखदेखि काम गर्दै आएको छ । भवन निर्माणको दश महिनामा ६५ प्रतिशत भौतिक प्रगति गरेको गाउँपालिका उपाध्यक्ष सन्तोश सेर्माले बताए । तर कुम्मायकमा १९ महिनाको अवधिमा २० प्रतिशत मात्रै प्रगति देखिएको छ ।